close

श्रीलङ्काले नेपालीहरूलाई अनलाइनबाटै निःशुल्क टुरिस्ट भिसा दिने

टेकपाना टेकपाना

जेठ १३, २०८३ ११:२१

श्रीलङ्काले नेपालीहरूलाई अनलाइनबाटै निःशुल्क टुरिस्ट भिसा दिने

काठमाडौँ । श्रीलङ्का सरकारले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटकीय भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन - ईटीए) को व्यवस्था गरेको छ । काठमाडौँस्थित श्रीलङ्काली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालसहित विश्वका ४० देशका नागरिकलाई यस्तो सुविधा दिने निर्णय भएको जानकारी दिएको हो ।

यो नयाँ व्यवस्था अनुसार श्रीलङ्का भ्रमण गर्न चाहने नेपालीहरूले ३० दिनका लागि 'डबल इन्ट्री' टुरिस्ट भिसा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन् । यो नियम २५ मे, २०२६ देखि नै लागु भइसकेको छ ।

कसरी लिने भिसा ?

श्रीलङ्का जान चाहने यात्रीहरूले त्यहाँ पुग्नुअघि नै आधिकारिक वेबसाइट www.eta.gov.lk मार्फत अनलाइन आवेदन दिएर ईटीए प्राप्त गर्नुपर्नेछ । अनलाइनबाट आवेदन दिन नसक्ने वा थप जानकारी आवश्यक पर्ने व्यक्तिहरूले काठमाडौँस्थित श्रीलङ्काली दूतावासमा सिधै सम्पर्क गर्न समेत सक्नेछन् ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले श्रीलङ्काले चालेको यस कदमले नेपाली पर्यटकहरूका लागि श्रीलङ्का भ्रमण थप सहज र किफायती हुने विश्वास गरिएको छ । थप सहयोगका लागि दूतावासले आफ्ना फोन नम्बरहरू (०१-४७२०६२३, ०१-४७२१३८९) समेत उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ ११:२४