ओपनएआईलाई पछि पार्दै एन्थ्रोपिक बन्यो विश्वको सबैभन्दा मूल्यवान एआई कम्पनी
जेठ १६, २०८३ ७:५४
काठमाडाैँ । एन्थ्रोपिक विश्वकै सबैभन्दा मूल्यवान आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी बनेको छ । एन्थ्रोपिकले अर्को प्रतिस्पर्धी एआई कम्पनी ‘ओपनएआई’ लाई पछि पारेको हो । एन्थ्रोपिकले बिहीबार अल्टिमिटर क्यापिटल, ग्रीनओक्स, ड्रागोनियर र सेक्वोइया क्यापिटलको नेतृत्वमा रहेका लगानीकर्ताहरूबाट ६५ अर्ब डलर लगानी जुटाएको घोषणा गरेपछि यसको मूल्याङ्कन ओपनएआई भन्दा माथि पुकेको हो ।
उक्त नयाँ लगानीसँगै एन्थ्रोपिकको मूल्याङ्कन एक ट्रिलियन डलर नजिक अथार्त् ९६५ अर्ब डलर पुगेको छ । अर्कोतर्फ, गत मार्चमा ओपनएआईको मूल्याङ्कन ८५२ अर्ब डलर रहेको थियो । एआई च्याटबोट च्याटजीपीटी सार्वजनिक भएपछि लामो समयसम्म ओपनएआईलाई एआई उद्योगको प्रमुख कम्पनी मानिँदै आएको थियो । तर पछिल्लो समय एन्थ्रोपिक तीब्र गतिमा अघि बढ्दै गएको छ ।
यी दुई कम्पनीहरु सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेका छन् । यद्यपि एन्थ्रोपिकले मूल्याङ्कन मात्र नभइ आम्दानीको हिसाबले पनि एआई प्रतिस्पर्धामा ओपनएआईलाई पछि पारेको छ । नयाँ लगानी घोषणा गर्दै कम्पनीले यस महिनाको सुरुआतमा आफ्नो वार्षिकीकृत आम्दानी (रेभेन्यु रन रेट) ४७ अर्ब डलर पुगेको जानकारी दिएको छ ।
सीएनबीसीका अनुसार यो रकम यस वर्षको सुरुआतमा रहेको ३० अर्ब डलरको रन रेट र गत वर्षको १० अर्ब डलर वार्षिक आम्दानीको तुलनामा उल्लेखनीय वृद्धि हो । यता, ओपनएआईको वार्षिकीकृत आम्दानी करिब ३० अर्ब डलर रहेको अनुमान छ । जसको तुलनामा एन्थ्रोपिकको ४७ अर्ब डलर रन रेट करिब ३५ प्रतिशत बढी हो ।
एन्थ्रोपिकको नयाँ मूल्याङ्कनले एआई उद्योगभित्रको शक्ति सन्तुलनमा आएको परिवर्तनलाई थप स्पष्ट बनाएको छ । यसले कम्पनीको एआई च्याटबोट ‘क्लाउड’ को बढ्दो व्यावसायिक तथा सांस्कृतिक प्रभावलाई मौद्रिक मूल्यमा रूपान्तरण गरेको विश्लेषण गरिएको छ । एन्थ्रोपिकको मूल्याङ्कनले निकट भविष्यमै निष्कासन हुन लागेका प्रतिस्पर्धी कम्पनीहरु ओपनएआई र स्पेसएक्सको आईपीओमा पनि ठुलो असर पुर्याउन सक्ने विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ ७:५६
