close

हजाराैँ युवा उद्यमीलाई एआई कम्प्युट पावरकाे पहुँच दिन्छाैँ - अर्थमन्त्री वाग्ले

टेकपाना टेकपाना

जेठ १७, २०८३ २१:१५

हजाराैँ युवा उद्यमीलाई एआई कम्प्युट पावरकाे पहुँच दिन्छाैँ - अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौँको चोभारमा ‘सोभरेन एआई’ कम्प्युट फ्याक्ट्री स्थापना गरी १०औँ हजार युवा उद्यमीहरूलाई एआई कम्प्युट पावरको पहुँच पुर्‍याउने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बजेटबारे थप स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले उक्त फ्याक्ट्रीका लागि सरकारले सुरुमै हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गर्ने तयारी गरेको पनि जानकारी गराएका छन् ।

यस पहलले नेपालको डिजिटल र फिनटेक (वित्तीय प्रविधि) समुदायमा नयाँ उत्साह थपेको उनले उल्लेख गरे । यस परियोजनालाई अघि बढाउन विश्वस्तरमा स्थापित नेपाली मूलका एआई शोधकर्ता तथा प्राध्यापकहरूलाई फेलोसिप दिएर काठमाडौँ ल्याउने सरकारको योजना छ । “यो क्षेत्रमा ठूलो ‘ब्रेकथ्रु’ हुँदैछ । अमेरिकाको नास्डाकमा सूचीकृत नेपाली कम्पनी फ्युजमसिनका संस्थापक एवं कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा. समीर मास्के लगायतले यस कार्यमा नेतृत्वदायी सहयोग गरिरहनुभएको छ,” अर्थमन्त्री वाग्लेले भने ।

डेटाको सुरक्षा र सार्वभौमिकतासँग जोडिएका संवेदनशील मुद्दा हुने भएकाले सुरुवाती चरणमा राज्यकै नेतृत्वमा ‘सोभरेन एआई’ कम्प्युट स्थापना गर्न लागिएको उनले स्पष्ट पारे । सरकारी अग्रसरतापछि यस क्षेत्रमा निजी क्षेत्रबाट पनि ठुलो पुँजी भित्रिने उनकाे विश्वास छ । नेपालको स्वच्छ ऊर्जा (विद्युत्) लाई छिमेकी मुलुकमा निर्यात गर्नुका साथै देशभित्रै एआई कम्प्युट पावरसँग जोड्न सके यसले अर्थतन्त्रमा रूपान्तरणकारी भूमिका खेल्ने मन्त्री वाग्लेको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ २१:२७