क्यालिफोर्नियाँ र फ्लोरिडामा ३ करोड २० लाख लामखुट्टे छोड्ने गुगलको योजना, आखिर किन ?
जेठ १९, २०८३ ११:३६
काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेटले अमेरिकाको क्यालिफोर्निया र फ्लोरिडामा ३ करोड २० लाख लामखुट्टेहरू (मच्छर) छोड्ने तयारी गरिरहेको छ । सुन्दा अचम्म लाग्न सक्छ - लामखुट्टेको सङ्ख्या घटाउनुको साटो उल्टै लाखौँको सङ्ख्यामा थप लामखुट्टे किन छोडिँदैछ ?
तर, गुगलको डिबग प्रोजेक्ट (Debug Project) अन्तर्गत चालिएको यो कदम खतरनाक रोगहरू नियन्त्रण गर्ने एक वैज्ञानिक रणनीति हो । यो अभियानको मुख्य उद्देश्य एडिस एजिप्टाई (Aedes aegypti) प्रजातिका लामखुट्टेको सङ्ख्या घटाउनु हो ।
यो प्रजाति डेङ्गु, जिका, चिकनगुनिया, एलो फिभर र मलेरिया जस्ता प्राणघातक रोगहरू फैलाउन जिम्मेवार प्राणघातक प्राणी मानिन्छ । गुगलले प्रयोगशालामा हुर्काइएका बाँझो भाले लामखुट्टेहरूलाई प्रकृतिमा छोड्नेछ । यी भाले लामखुट्टेहरूमा वोल्बाचिया (Wolbachia) नामक एक प्राकृतिक ब्याक्टेरिया सङ्क्रमित गराइएको हुन्छ ।
जब यी वोल्बाचिया सङ्क्रमित भाले लामखुट्टेहरूले जङ्गली पोथी लामखुट्टेहरूसँग संसर्ग गर्छन्, तब पोथीले पार्ने अण्डाहरूबाट बच्चा निस्कँदैनन् । यसरी पुस्तौँपुस्तासम्म यो प्रक्रिया दोहोरिँदा लामखुट्टेको सङ्ख्या नाटकीय रूपमा घट्दै जान्छ ।
रोचक कुरा के छ भने, भाले लामखुट्टेले मानिसलाई टोक्दैनन् । तिनीहरूले रोग पनि सार्दैनन् । त्यसैले करोडौँको सङ्ख्यामा यी लामखुट्टेहरू छोडिँदा पनि मानिसहरूलाई कुनै हानि हुँदैन ।
यसअघि पनि लामखुट्टे नियन्त्रणका लागि स्टेराइल इन्सेक्ट टेक्निक (Sterile Insect Technique) प्रयोग नभएको होइन । तर ठुलो स्तरमा यो कहिल्यै सफल भएको थिएन । गुगलले आफ्नो प्रविधिको प्रयोग गरी यसलाई सम्भव बनाएको छ ।
कम्पनीले अटोमेटेड रियरिङ सिस्टमको विकास गरेको छ, जसले लाखौँ लामखुट्टेहरू उत्पादन गर्न सक्छ । साथै एआई र सेन्सर जडित आधुनिक मसिनहरूले भाले र पोथी लामखुट्टेलाई शुद्धताका साथ छुट्याउने काम गर्छन् । ताकि गल्तीले पनि पोथी लामखुट्टेहरू बाहिर नछोडिऊन् ।
गुगलले यो प्रविधि अमेरिकामा प्रयोग गर्नुअघि सिङ्गापुरमा परीक्षण गरिसकेको छ । सिङ्गापुरमा गरिएको प्रयोगबाट लामखुट्टेको सङ्ख्यामा ८० देखि ९० प्रतिशतसम्म कमी आएको र डेङ्गुका बिरामीहरूको सङ्ख्या ७० प्रतिशतले घटेको पाइएको छ । यही सफलताबाट उत्साहित भएर गुगलले अब अमेरिकामा यो अभियान विस्तार गर्न लागेको हो ।
गुगलले आगामी दुई वर्षमा वार्षिक १ करोड ६० लाखका दरले लामखुट्टे छोड्नका लागि अमेरिकी वातावरण संरक्षण निकाय (ईपीए) सँग अनुमति मागेको छ । अहिले यस विषयमा सार्वजनिक राय लिने काम भइरहेको छ, जसको समयसीमा जुन ५ मा सकिँदैछ । यदि अनुमति पाएमा गुगलले क्यालिफोर्निया र फ्लोरिडाका समुदायहरूमा यी स्मार्ट लामखुट्टेहरू छोड्न सुरु गर्नेछ ।
परम्परागत रूपमा प्रयोग गरिने कीटनाशक औषधिहरू विषाक्त हुने र समयसँगै लामखुट्टेहरू ती औषधिप्रति प्रतिरोधी बन्दै गएका कारण प्रविधिमा आधारित गुगलको यो समाधानलाई रोग नियन्त्रणको क्षेत्रमा एक क्रान्तिकारी कदम मानिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ ११:३६
