close

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयको आईटी डिग्री नेपालमै उपलब्ध गराउँदै जीसीटी, कस्तो छ कोर्स ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

जेठ २५, २०८३ २०:२३

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयको आईटी डिग्री नेपालमै उपलब्ध गराउँदै जीसीटी, कस्तो छ कोर्स ?

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको ‘ग्लोबल कलेज अफ टेक्नोलोजी’ (जीसीटी) ले स्नातक तहमा अन्तर्राष्ट्रिय स्तरको डिग्रीसहित प्रविधिसँग सम्बन्धित विषयको अध्यापन सुरु गरेको छ । बेलायतको हडर्सफिल्ड विश्वविद्यालयसँग ट्रान्सनेसनल एजुकेसन (टीएनई) साझेदारीमार्फत बीएससी (अनर्स) इन्फर्मेसन टेक्नोलोजी र बीएससी (अनर्स) कम्प्युटर साइन्स अन्तर्गत एआई र साइबर सेक्युरिटी  विषयमा अध्यापन सुरु गरेको हो ।

क्यूएस वर्ल्ड र्‍याङ्किङ २०२६ मा ५२४औँ स्थानमा रहेको हडर्सफिल्ड विश्वविद्यालय बेलायतको उत्कृष्ट शैक्षिक संस्थामध्ये एक मानिन्छ । उक्त विश्वविद्यालयले बेलायतमा पढाउँदै आएको पाठ्यक्रम अनुसार नै नेपालमा अध्यापन हुने क्याम्पस प्रमुख डा. देवराज पनेरूले बताए ।

“हडर्सफिल्ड विश्वविद्यालयमा अध्यापन हुने पाठ्यक्रममा नै आधारित भएर यहाँ पढाइन्छ । त्यहाँकै क्वालिटी अस्योरेन्स टिमले शैक्षिक गुणस्तर कायम राख्न निरन्तर अनुगमन गर्दछ ।” 

उनका अनुसार क्याम्पसमा रोबोटिक्स र मसिन लर्निङ सिक्नका लागि एआई सपोर्टेड ल्याब र स्मार्ट कक्षाकोठा छन् । यस्तै साइबर सेक्युरिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र डिजिटल लजिक जस्ता विषयका लागि अन्तर्राष्ट्रिय मापदण्डका ल्याब  निर्माण गरिएको उनले बताए । उनका अनुसार यी ल्याब हडर्सफिल्ड विश्वविद्यालयले नै प्रमाणीकरण गरेको हो ।

साथै, जीसीटीका विद्यार्थीले बेलायतको हडर्सफिल्ड विश्वविद्यालयका विद्यार्थीसरह अनलाइन पोर्टल र डिजिटल रिसोर्सहरूमा पहुँच प्राप्त गर्नेछन् ।

तेस्रो वर्षमा बेलायत गएर पढ्न सकिने

क्याम्पस प्रमुख डा. पनेरूका अनुसार जीसीटीमा भर्ना हुने विद्यार्थीले तेस्रो वर्षमा बेलायत नै गएर पढ्न चाहेमा हडर्सफिल्ड विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्न सक्नेछन् । तर यसका लागि विद्यार्थीले  विश्वविद्यालयले तोके अनुसारको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । 

उनले थपे, “यसरी जाने विद्यार्थीले आईईएलटीएस वा पीटीई गरिरहनु पर्दैन ।” बेलायतकै मापदण्ड अनुसार नेपालमा अध्यापन हुने भएकाले त्यहाँ पुगेपछि विद्यार्थीले अन्य विश्वविद्यालयमा समानान्तर रूपमा ‘सेकेन्डमेन्ट कोर्स’ समेत अध्ययन गर्न सक्ने उनले बताए ।

कलेजमा अध्यापन गराउने शिक्षकहरू यूकेको टिचिङ लर्निङ फ्रेमवर्क अनुसार तालिमप्राप्त छन् । बेलायतबाटै प्राध्यापकले ‘गेस्ट लेक्चरर’ को रूपमा समय समयमा कक्षा लिने व्यवस्था मिलाइएको छ ।

हप्ताको पाँच दिन अध्यापन हुने र अध्ययनका क्रममा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक पक्षलाई विशेष जोड दिइएको छ । यसबाट विद्यार्थीको आधारभूत ज्ञान मजबुत हुनुका साथै उनीहरू उच्च दक्षता हासिल गर्न सफल हुने विश्वास लिइएको छ ।

डा. पनेरू भन्छन्, “जीसीटीमा बेलायतको प्रतिष्ठित विश्वविद्यालयको डिग्री नेपाली शुल्कमै प्राप्त गर्न सकिन्छ ।”

कलेजले पहिलो दिनदेखि नै प्रयोगात्मक क्रियाकलापमा आधारित शिक्षण-सिकाइलाई प्राथमिकता दिएको छ । जसले गर्दा विद्यार्थीले अध्ययनकै क्रममा कार्यक्षेत्रका लागि आवश्यक सीप सिक्नेछन् । स्नातक तह पूरा गर्दासम्म उद्योगहरूले खोज्ने स्तरको जनशक्ति तयार पार्न यो पद्धति अपनाइएको हो ।

ग्लोबल कलेज अफ टेक्नोलोजी ‘ग्लोबल कलेज ग्रुप’ को एक हिस्सा हो । यस ग्रुपसँग १०० भन्दा बढी उद्योगहरू साझेदार रहेकाले विद्यार्थीलाई रोजगारीको अवसर पाउन सहज हुने बताइएको छ । “नेपालका कयौँ आईटी कम्पनीहरूसँग हाम्रो सहकार्य छ, जहाँ विद्यार्थीले आफ्नो रुचि र सीप अनुसार काम गर्न सक्छन्,” डा. पनेरूले भने, “कलेजमा विद्यार्थीको करियर विकासका लागि छुट्टै 'सपोर्ट विङ' छ, जसले हडर्सफिल्ड विश्वविद्यालयको स्टुडेन्ट सपोर्ट विङसँग समन्वय गरी विद्यार्थीलाई रोजगारीका लागि तयार पार्छ ।”

उनका अनुसार विद्यार्थीलाई समय-समयमा तालिम, उद्यम विकास र नयाँ प्रविधिसम्बन्धी तालिमहरू प्रदान गरिनेछ । यसले उनीहरूलाई प्रविधि क्षेत्रका साथै सामाजिक रूपमा पनि परिपक्व हुने अवसर दिनेछ । “सेमेस्टर र विश्वविद्यालय शुल्क तिरेपछि विद्यार्थीले अतिरिक्त तालिमका लागि छुट्टै शुल्क बुझाउनु पर्दैन । यी तालिमहरू कलेजले विद्यार्थीको क्षमता विकासका लागि निःशुल्क उपलब्ध गराउनेछ,” उनले भने ।

विद्यार्थीले नयाँ केही इनोभेसन गरेर आफ्नो व्यवसाय वा उद्यम सुरु गर्न चाहेमा ती उद्यमशीलताको सम्भावना हेरेर बीउ पुँजी (सीड फन्ड) सहित सहयोग उपलब्ध गराउने कलेजको प्रतिबद्धता छ ।

बिस्तारै स्नातक तहमा प्रविधिसम्बन्धी अन्य विषय थप गर्ने र स्नातकोत्तर तहसमेत सुरु गर्ने योजना बनाइएको छ । प्रविधिबाहेक व्यवस्थापनका अन्तर्राष्ट्रिय मापदण्डका विषयहरू पनि स्नातक तहमा ल्याउने कलेजको लक्ष्य छ ।

शब्द-चित्रमा ग्लोबल कलेज अफ टेक्नोलोजी

कलेज नाम: ग्लोबल कलेज अफ टेक्नोलोजी

सम्बन्धन प्राप्त संस्था/विश्वविद्यालय:  हडर्सफिल्ड विश्वविद्यालय, यूके

संस्थापक:  प्रोफेसनल होल्डिङ्स लिमिटेड

स्थापना मिति: १ फेब्रुअरी २०२५ 

कलेजको प्रकार: निजी

क्याम्पस प्रमुख: डा. देवराज पनेरू

 

सम्पर्क विवरणहरू

वेबसाइट: www.gct.edu.np

सामाजिक सञ्जाल: फेसबुक 

टेलिफाेन/मोबाइल नम्बर: (९७७-१) ५१२३४५६, ०१-५९७०३१६

ईमेल: [email protected]

ठेगाना: मध्यबानेश्वर, काठमाडौं 

 

भौतिक संरचना

एआई सपोर्टेड ल्याब, स्मार्ट कक्षाकोठा, साइबर सेक्युरिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र डिजिटल लजिकजस्ता विषयका लागि अन्तर्राष्ट्रिय मापदण्डका ल्याब ।

शैक्षिक कार्यक्रमहरू:

स्नातक तह: 

१. बीएससी (अनर्स) इन्फर्मेसन टेक्नोलोजी

२. बीएससी (अनर्स) कम्प्युटर साइन्स इन आर्टिफिसियल इन्टेलिजेन्स 

३. बीएससी (अनर्स) कम्प्युटर साइन्स इन साइबर सेक्युरिटी

आवश्यक पर्ने शैक्षिक योग्यता 

यी विषयहरूमा भर्ना लिन चाहने विद्यार्थीले कक्षा १२, ए लेभल वा सो सरहको शैक्षिक योग्यतामा न्यूनतम २.० सीजीपीए प्राप्त गरेको हुनुपर्छ भने प्रत्येक विषयमा कम्तीमा डी प्लस ग्रेड अनिवार्य ल्याएको हुनुपर्ने सर्त राखिएको छ ।

क्रेडिट आवर

चार वर्षमा आठ सेमेस्टर अन्तर्गत अध्यापन हुने यी कोर्सहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारेको बताइएको छ । यी पाठ्यक्रमको कुल भार ४८० क्याट्स (सीएटीएस) रहेको छ । जुन युरोपेली क्रेडिट ट्रान्सफर एन्ड एक्युमुलेसन सिस्टम (ईसीटीएस) अनुसार २४० क्रेडिट बराबर हुन आउँछ । 

त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार यो १२० क्रेडिट आवर बराबरको समकक्षता (इक्युभ्यालेन्स) हो । जसले गर्दा विद्यार्थीलाई नेपाल र विदेशमा अध्ययन वा रोजगारीका लागि सहज हुनेछ । 

बीएससी (अनर्स) इन इन्फर्मेसन टेक्नोलोजी 

यो कोर्स अन्तर्गत विद्यार्थीहरूले कम्प्युटिङ सिस्टम, सफ्टवेयर विकास र आधुनिक प्रविधिको क्षेत्रमा दक्षता प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत पहिलो वर्षमा कम्प्युटर साइन्सका आधारभूत सिद्धान्त, ग्राफिक्स डिजाइनिङ र डिजिटल मार्केटिङ जस्ता विषय पढ्न पाउने छन् । 

दोस्रो वर्षमा प्रोग्रामिङ, डेटाबेस म्यानेजमेन्ट, कम्प्युटर नेटवर्क र वेब प्रोग्रामिङ जस्ता प्राविधिक विषयहरू पढाइन्छ ।

तेस्रो वर्षमा डेटा साइन्स, साइबर सुरक्षा, यूएक्स डिजाइन र ब्याकइन्ड वेब डेभलपमेन्ट जस्ता विषय विद्यार्थीले पढ्नेछन् ।

अन्तिम वर्षमा  इन्फर्मेसन आर्किटेक्चर र सिस्टम स्ट्राटेजी, सफ्टवेयर आर्किटेक्चर वा एड्भान्स्ड एनालिटिक्स जस्ता ऐच्छिक विषयहरू अध्ययन गर्ने अवसर पाउनेछन् । 

बीएसी (अनर्स) इन साइबर सेक्युरिटी

बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ साइबर सेक्युरिटी अन्तर्गत कम्प्युटिङ प्रणाली र डिजिटल सुरक्षाका विषयमा प्राथमिकता राखिएको छ ।

यो कोर्सको पहिलो वर्षमा विद्यार्थीहरूले कम्प्युटेसनल थिङ्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ र कम्प्युटर विज्ञानका आधारभूत सिद्धान्तहरू सिक्नेछन् ।

दोस्रो वर्षमा प्रोसिजरल र अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ, कम्प्युटर नेटवर्क, कम्प्युटर आर्किटेक्चर र म्याथमेटिकल कम्सेप्टको बारेमा जान्ने छन् । तेस्रो वर्षमा विद्यार्थीले साइबर सुरक्षालाई थप विस्तृतमा पढ्न पाउनेछन् ।

जहाँ डिजिटल फरेन्सिक, आर्टिफिसियल इन्टेलिजेन्स, एल्गोरिदमका बारे सिक्नेछन् । साथै क्रिप्टोग्राफी, अपरेटिङ सिस्टम सेक्युरिटी र डिजिटल प्रमाणको विश्लेषण गर्ने सीप सिक्ने अवसर समेत पाइने छ ।

चौथो वर्षमा  एड्भान्स्ड साइबर सेक्युरिटी, डेटा ड्रिभन एआई (डिप लर्निङ) र डिस्ट्रिब्युटेड सिस्टम्सका साथै जटिल किसिमका डेटा मोडलिङ गर्न सक्ने गरी कम्प्युटेसनल म्याथम्याटिक्सलाई विस्तृत रूपमा पढाइन्छ । 

बीएसी (अनर्स) इन आर्टिफिसियल इन्टेलिजेन्स

यो कोर्समा मसिन लर्निङ, डिप लर्निङ, इन्टेलिजेन्ट सफ्टवेयर विकास र डेटा एनालिटिक्स जस्ता क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि उपयुक्त हुने बताइएको छ । 

जसअन्तर्गत पहिलो वर्षमा कम्प्युटेसनल थिङ्किङ, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ र कम्प्युटर विज्ञानका आधारभूत विषयहरू पढाइन्छ । दोस्रो वर्षमा पुगेपछि विद्यार्थी ले प्रोसिजरल र अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ, कम्प्युटर नेटवर्क र कम्प्युटर आर्किटेक्चर जस्ता प्राविधिक विषय विस्तृत रूपमा पढ्न पाउने छन् । 

तेस्रो वर्ष आर्टिफिसियल इन्टेलिजेन्सको परिचय, कम्प्युटेसनल म्याथ, डेटाबेस र एल्गोरिदममा केन्द्रित रहन्छ । जहाँ विद्यार्थीले मससिनले कसरी बुद्धिमानीपूर्वक काम गर्छन् भन्ने आधारभूत कुरा सिक्नेछन् । 

चौथो वर्षमा नलेज बेस्ड एआई र डेटा ड्रिभन एआई जस्ता विषयहरू समावेश गरिएका छन् ।  जसमा डिप लर्निङ, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र कग्निटिभ रोबोटिक्स जस्ता  विषयहरू समावेश गरिएको छ । 

प्रयोगात्मक कार्य

यी कोर्सहरूमा विद्यार्थीले अध्ययनसँगै प्रयोगात्मक कार्य सुरु गर्नेछन् । दोस्रो वर्षबाट भने पाठ्यक्रममा छुट्टै समेत प्रयोगात्मक कार्य समेटिएको छ । दोस्रो वर्षमा प्रोजेक्ट १ र तेस्रो वर्षमा टिम प्रोजेक्ट मार्फत समूहमा काम गर्दै वास्तविक जीवनका समस्या समाधान गर्नेछन् । अन्तिम वर्षमा भने हरेक विद्यार्थीले ३० हप्ता समय लगाएर व्यक्तिगत प्रोजेक्ट तयार पार्नुपर्ने हुन्छ । 

शुल्क

चार वर्षमा आठ सेमेस्टरमा अध्यापन हुने यी प्रत्येक शैक्षिक कार्यक्रमका लागि करिब २० लाख रुपैयाँ शुल्क लाग्छ । 

जसअन्तर्गत सेमेस्टर शुल्क १२ लाख २५ हजार रुपैयाँ र विश्वविद्यालय शुल्क कुल तीन हजार ८५० पाउन्ड (करिब सात लाख ७० हजार रुपैयाँ) निर्धारण गरिएको छ । 

सेमेस्टर शुल्क अन्तर्गत पहिलो वर्ष दुई लाख ६० हजार (प्रति सेमेस्टर एक लाख ३० हजार) रुपैयाँ तिर्नुपर्ने हुन्छ । दोस्रो वर्षदेखि चौथो वर्षसम्म प्रति वर्ष दुई लाख ८० हजार (प्रति सेमेस्टर एक लाख ४० हजार) गरेर कुल १२ लाख २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

विश्वविद्यालय शुल्क अन्तर्गत पहिलो सेमेस्टरमा २५० पाउन्ड तिर्नुपर्ने हुन्छ । सोपछि दोस्रो देखि चौथो वर्षसम्म प्रति वर्ष एक हजार २०० पाउन्ड तिर्नुपर्ने हुन्छ । विश्वविद्यालय शुल्क भने हरेक वर्षको रजिस्ट्रेसन सुरु भएको एक महिनाभित्र बुझाउनुपर्ने बताइएको छ । 

पाउन्डमा तिर्नुपर्ने शुल्क भने बजारमा हरेक दिन तोकिने रकम अनुसार नभइ एक पाउन्ड बराबर २०० रुपैयाँ लिइने क्याम्पसले जनाएको छ ।

यसरी निर्धारण गरिएको शुल्कले बजारमा रहेको मूल्य सटही दरभन्दा कम पर्न जाने र अभिभावकहरूलाई सहुलियत पर्न जाने क्याम्पसको दाबी छ । यदि सटही दर एक पाउन्ड बराबर २०० रुपैयाँभन्दा कम पर्न गएमा सोही अनुसार घटाएर शुल्क लिइने बताइएको छ ।  

छात्रवृत्ति

गरिब तथा जेहेन्दार विद्यार्थी र अध्ययनमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ २०:३७