छात्रवृत्तिसहित त्रिविमा डेटा साइन्स पढ्ने अवसर, भर्नाका लागि ७ साउनसम्म आवेदन दिन सकिने
असार १२, २०८३ १९:९
काठमाडौं । त्रिभुवन विश्वविद्याल, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको गणित विज्ञान स्कुलले स्नातक तहको ‘डेटा साइन्स’ (Bachelor in Data Science) कार्यक्रममा विद्यार्थी भर्ना खुला गरेको छ । एक सूचना जारी गर्दै स्कुलले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरेको हो ।
स्कुलले कुल ४० वटा सिटका लागि भर्ना आह्वान गरेको छ, जसमा ३२ जना खुला प्रतिस्पर्धाबाट र ८ जना समावेशी कोटाका आधारमा छनोट हुनेछन् । छात्रवृत्तिको हकमा, हरेक सेमेस्टरमा एक छात्र र एक छात्रालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिनुका साथै कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्तिको समेत व्यवस्था गरिएको स्कुलले जनाएको छ ।
यस कार्यक्रममा भर्ना हुनका लागि विद्यार्थीले कक्षा १२ को परीक्षामा न्यूनतम १.८ सीजीपीए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, प्रवीणता प्रमाणपत्र तह वा तीन वर्षे डिप्लोमा तहमा कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएका वा ए-लेभलको परीक्षामा न्यूनतम ‘डी’ ग्रेड ल्याएका विद्यार्थीहरूले पनि आवेदन दिन सक्नेछन् । विदेशी शैक्षिक संस्थाबाट योग्यता प्राप्त गरेका विद्यार्थीहरूको हकमा पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त समकक्षताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।
भर्ना हुन चाहने विद्यार्थीले स्कुलको वेबसाइटमार्फत ७ साउन बेलुका ५ बजेसम्म यहाँ क्लिक गरी अनलाइन आवेदन दिन सक्नेछन् । प्रवेश परीक्षाका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।
नयाँ विद्यार्थीको छनोट लिखित परीक्षा, अन्तर्वार्ता र शैक्षिक योग्यताको प्राप्ताङ्कका आधारमा गरिनेछ । कुल १०० पूर्णाङ्कमध्ये लिखित परीक्षालाई ८० अङ्क, अन्तर्वार्तालाई १० अङ्क र शैक्षिक योग्यतालाई १० अङ्क भार दिइएको छ ।
लिखित परीक्षामा गणित र अङ्ग्रेजी विषयबाट ३०-३० अङ्क तथा सामान्य ज्ञान (जीके) र आईक्यूबाट २० अङ्कका बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन् । १ घण्टा ४५ मिनेटको यस परीक्षामा उत्तीर्ण हुन कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ । लिखित परीक्षा ९ साउन बिहान ८ बजे सञ्चालन हुनेछ ।
डेटा साइन्स कार्यक्रमको बारेमा विस्तृत जानकारीको लागि यहाँ क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८३ १९:४८
