काठमाडौँ । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत श्रम स्वीकृति लिन प्रयोग हुने पासवर्ड परिवर्तन प्रक्रिया सहज बनाएको छ । वैदेशिक रोजगारीमा जानेहरुलाई अनलाइन श्रम स्वीकृतिका लागि पासवर्ड बिर्सिएर सूचना व्यवस्थापन प्रणालीमा लगइन गर्न समस्या भएपछि विभागले सेवाग्राही आफैँले पासवर्ड रिसेट गर्न मिल्ने बनाएको हाे ।
यसका लागि सबैभन्दा पहिले वैदेशिक रोजगार सूचना प्रणाली व्यवस्थापनको वेबसाइट https://feims.dofe.gov.np/Common-Login मा गएर वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि ताेकिएकाे लगइन बटन क्लिक गर्नुपर्छ । त्यसपछि आफ्नो राहदानी (पासपोर्ट) नम्बर इन्ट्री गरी अगाडि बढ्नुपर्नेछ ।
इन्ट्री गरेपछि पासवर्ड राख्ने स्थानसँगै ‘फर्गट पासवर्ड’ (Forgot Password) बटन देखिन्छ। पासवर्ड रिसेट गर्नका लागि उक्त बटनमा क्लिक गरी आफ्नो जन्म मिति, पासपोर्ट जारी भएको मिति र क्याप्चा प्रविष्ट गर्नुपर्ने हुन्छ । प्रणालीले विवरण प्रमाणीकरण गरेपछि नयाँ पासवर्ड राख्ने विकल्प उपलब्ध हुन्छ र नयाँ पासवर्ड सेट गरेपछि पुनः आफ्नो प्रोफाइलमा लगइन गर्न सकिन्छ ।
प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइलको सुरक्षाका लागि पासपोर्टको फोटो वा विवरण अन्य व्यक्तिलाई उपलब्ध गराउनु हुँदैन । यता, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुविधाका लागि गन्तव्य मुलुकको रोजगारदाता कम्पनीको नाम पनि सेवाग्राहीले स्वयंले प्रणालीमा थप्न सक्ने व्यवस्था पनि गरेको छ । कम्पनीको नाम थप्दा वैदेशिक रोजगारीसम्बन्धी आधिकारिक कागजातमा उल्लेख भएको कम्पनीको नाम मात्र प्रयोग गर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १३:३६
