close

विश्वकप २०२६: सामाजिक सञ्जालमा हानिकारक पोस्ट र कमेन्टमा १४ गुणा वृद्धि, ७० लाख सामग्री हटाइए

टेकपाना टेकपाना

साउन ३, २०८३ ८:२१

विश्वकप २०२६: सामाजिक सञ्जालमा हानिकारक पोस्ट र कमेन्टमा १४ गुणा वृद्धि, ७० लाख सामग्री हटाइए

काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा गत संकरण अर्थात सन् २०२२ को विश्वकपको तुलनामा हानिकारक पोस्ट र कमेन्ट १४ गुणा बढी देखिएका छन् । फिफाको अध्ययनअनुसार यस वर्षको विश्वकप अवधिमा ७० लाखभन्दा बढी हानिकारक सन्देश (पोस्ट र कमेन्ट) पहिचान गरी हटाइएको छ ।

यो संख्या अघिल्लो विश्वकपमा हटाइएका ४ लाख ७० हजार यस्ता हानिकारक पोस्ट र टिप्पणीको तुलनामा निकै ठुलो वृद्धि हो । फिफाका अनुसार सन् २०२६ को विश्वकपमा २ लाखभन्दा बढी दुर्व्यवहारपूर्ण र धम्कीपूर्ण पोस्ट तथा टिप्पणी फेला परेका छन् । यो संख्या कतारमा सन् २०२२ मा भएको विश्वकपमा रेकर्ड गरिएका १९ हजार ६०० यस्ता पोस्ट तथा टिप्पणीको तुलनामा निकै बढी हो ।

यस्तै, १५ हजारभन्दा बढी पोस्टमाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ भने १ हजारभन्दा बढी गम्भीर धम्कीपूर्ण सन्देशहरू कानुन कार्यान्वयन गर्ने निकायसम्म पठाइएको फिफाले जनाएको छ । 

फिफाले प्रतियोगितामा सहभागी सबै टोली, प्रशिक्षक, खेलाडी तथा अफिसियललाई सामाजिक सञ्जालमा हुने दुर्व्यवहार र धम्कीबाट जोगाउने डिजिटल सुरक्षा प्रणालीको रुपमा सामाजिक सञ्जाल सुरक्षा सेवा उपलब्ध गराएको थियो । सोही सेवामार्फत अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित २०२६ फिफा विश्वकप अवधिमा ५ करोड ३० लाखभन्दा बढी पोस्ट तथा टिप्पणीको निगरानी गर्दै आपत्तिजनक सामग्री पहिचान र व्यवस्थापन गरेको फिफाले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८३ ९:५१