एजेन्टिक एआई र लिक्विड ग्लास यूआईसहित ह्वावेले ल्यायो हार्मोनी ओएस ७, केके छन् फिचर ?
जेठ ३०, २०८३ १४:३१
काठमाडौँ । ह्वावेले आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस ७’ सार्वजनिक गरेको छ । प्रविधि बजारको पछिल्लो माग अनुरूप यस पटक ह्वावेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र नयाँ युजर इन्टरफेसलाई प्राथमिकता दिएको छ ।
एप्पलको डिजाइनबाट प्रभावित देखिएको यस ओएसमा लिक्विड ग्लासजस्तै युजर इन्टरफेस प्रयोग गरिएको छ । सिस्टममा रहेका स्लाइडर र बटनहरू जस्ता एलिमेन्टहरूलाई सिसाजस्तै ग्लासी स्वरूप दिइएको छ । यसमा कुनै पनि दृश्यलाई थ्रीडी इफेक्टमा रूपान्तरण गरी स्क्रिनमा प्रस्तुत गर्ने क्षमता छ । जुन विशेषगरी लक स्क्रिनमा आकर्षक रूपमा देखिने बताइएको छ ।
ह्वावेले आफ्नो भर्चुअल असिस्टेन्टमा एजेन्टिक एआई इन्टिग्रेट गरेको छ । यसले एपभित्रका विभिन्न कमान्डहरूलाई सहजै बुझ्न र प्रयोगकर्ताका जटिल अनुरोधहरूलाई सामान्य एआई असिस्टेन्टभन्दा छिटो र प्रभावकारी रूपमा पूरा गर्न सक्ने कम्पनीको दाबी छ । यसका साथै, नयाँ ओएसमा फोटो एडिटिङका लागि पनि एआई विकल्पहरू उपलब्ध गराइएको छ ।
कम्पनीका अनुसार नयाँ ‘हार्मोनी ओएस इन्टेलिजेन्ट एजेन्ट फ्रेमवर्क २.०’ मा ‘इन्टेन्ट एज अ सर्भिस’ (Intent as a service) को अवधारणा ल्याइएको छ । यसले कुनै पनि कार्य सम्पादन गर्दा ९० प्रतिशतभन्दा बढी सफलता दर सुनिश्चित गर्ने दाबी गरिएको छ ।
यसैगरी, हार्मोनी ओएस ७ को पर्फमेन्स अघिल्लो संस्करण ६.१ को तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ । यस सुधारले विशेषगरी एपहरू खोल्न र गेम खेल्न पहिलेभन्दा तीव्र र सहज बनाउने ह्वावेको अपेक्षा छ ।
हार्मोनी ओएस ७ ह्वावेका स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, वेयरेबल र आईओटी डिभाइसहरूमा उपलब्ध हुनेछ । योग्य स्मार्टफोनहरूका लागि यसको डेभलपर बेटा शुक्रबारदेखि उपलब्ध गराइएको छ भने अन्तिम अपडेट केही महिनासम्ममा जारी गरिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८३ १४:३१
