ललितपुर महानगरमा ‘ई-चलान’ सुरु, अब घटनास्थलमै क्यूआरबाट जरिबाना तिर्न सकिने
असार १, २०८३ १४:३४
काठमाडौँ । ललितपुर महानगरपालिकाले नगर प्रहरीमार्फत लिइने जरिबानालाई प्रविधिमैत्री बनाउन ‘एलएमसी ई-चलान’ (डिजिटल जरिबाना व्यवस्थापन) प्रणाली कार्यान्वयनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख चिरीबाबु महर्जनले उक्त प्रणालीको उद्घाटन गरे।
यो प्रणालीको सुरुवातसँगै अब जथाभाबी पार्किङ गर्ने, सार्वजनिक स्थानका बिरुवा भाँच्ने, फोहर फाल्ने र सडक पेटीमा व्यापार गर्नेहरूलाई नगर प्रहरीले गर्ने जरिबाना अनलाइनबाटै तिर्न सहज हुने नगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए ।
उक्त प्रणाली कार्यान्वयनका लागि नगर प्रहरीलाई तत्काल पाँचवटा पीओएस मसिन उपलब्ध गराइएको छ ।
जरिबाना प्रक्रियाबारे जानकारी दिँदै हाछेथूले भने, “यदि कुनै सवारीसाधनले नियम मिचेका कारण ह्विल लक गर्नुपरेमा, त्यहीँ क्यूआर कोड पनि राखिनेछ । उक्त कोडमा कति जरिबाना तिर्नुपर्ने हो भन्ने विवरण खुलाइएको हुन्छ । सवारी धनीले क्यूआर कोडमार्फत रकम भुक्तानी गर्नासाथ हाम्रो प्रणालीमा जानकारी आउँछ र नगर प्रहरीले तत्कालै पुगेर लक खोलिदिनेछन् ।”
सवारीसाधन मात्र नभई जथाभाबी फोहर फाल्ने वा फुटपाथमा व्यापार गर्ने व्यक्तिहरूलाई पनि घटनास्थलमै क्यूआर कोड उपलब्ध गराएर जरिबाना असुल गर्ने योजना महानगरको छ ।
यो प्रणालीले जरिबाना तिर्नका लागि नागरिकले भोग्नुपर्ने अनावश्यक झन्झट अन्त्य गर्ने विश्वास लिइएको छ । “यसअघि जरिबाना तिर्न नागरिकहरू महानगरपालिकासम्म पुगेर लाइन बस्नुपर्ने बाध्यता थियो, जसले गर्दा धेरै हैरानी हुन्थ्यो,” हाछेथूले टेकपानासँग भने, “नागरिकले गल्ती गरेबापतको सजाय (जरिबाना) पाऊन्, तर प्रक्रियाका नाममा अनावश्यक दुःख नपाऊन् भनेर यो प्रविधि ल्याएका हौँ ।”
ड्युटीमा खटिएका नगर प्रहरीहरूलाई फरक-फरक स्थानमा पीओएस मसिन उपलब्ध गराइने र यो प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान कोसिस गरिने उनले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असार १, २०८३ १४:५८
