आकाशटेलको एआई आधारित ‘ह्वाट्सएप बिजनेस प्लेटफर्म’, एउटै प्लेटफर्मबाट मार्केटिङ र ग्राहक सेवा
असार १, २०८३ १८:५७
काठमाडौँ । डिजिटल सञ्चार सेवा प्रदायक कम्पनी आकाशटेलले व्यावसायिक संस्थाहरूलाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ह्वाट्सएप बिजनेस प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहकहरूसँगको डिजिटल संवादलाई प्रभावकारी, द्रुत र व्यवस्थित बनाउने उद्देश्यले कम्पनीले यो नयाँ समाधान नेपाली बजारमा ल्याएको हो ।
यसका लागि कम्पनीले मेटाबाट आधिकारिक रूपमा प्रमाणित ‘मेटा भेरिफाइड ह्वाट्सएप बिजनेस प्लेटफर्म’ तथा एपीआई सेवा उपलब्ध गराएको छ । यसबाट सानादेखि ठुला व्यवसायहरूलाई ह्वाट्सएपमार्फत नै ग्राहक सेवा, बिक्री र मार्केटिङका काम एउटै पोर्टलबाट सञ्चालन गर्न सक्षम बनाउने आकाशटेलले जनाएको छ ।
“हालको डिजिटल युगमा ग्राहकहरूले आफूले प्रयोग गरिरहेको प्लेटफर्ममै छिटो, सहज र व्यक्तिगत सेवा अपेक्षा गर्ने गरेका छन्,” कम्पनीले भनेको छ, “नेपालमा लाखौँ प्रयोगकर्ताले दैनिक रूपमा ह्वाट्सएप प्रयोग गरे पनि धेरै व्यवसायले यसको व्यावसायिक सम्भावनाको पूर्ण उपयोग गर्न सकेका छैनन् ।”
यो नयाँ समाधानले व्यवसायहरूलाई ग्राहकसँगको सम्पूर्ण कुराकानी एउटै ड्यासबोर्डबाट व्यवस्थापन गर्न, एआई आधारित स्वचालित प्रणाली (अटोमेसन) सञ्चालन गर्न र एकैसाथ हजारौँ ग्राहकसँग व्यावसायिक सम्पर्क स्थापित गर्न मद्दत गर्नेछ । यसमा विशेष गरी एउटै नम्बरलाई धेरै कर्मचारीले चलाउन मिल्ने मल्टी-एजेन्ट सपोर्ट, धेरैलाई एकैपटक टेक्स्ट पठाउन मिल्ने ‘बल्क ब्रोडकास्टिङ’, चौबीसै घण्टा सेवा दिने ‘स्मार्ट एआई च्याटबट’ र ह्वाट्सएपभित्रै सामानको विवरण देखाउन मिल्ने ‘इन्टर्याक्टिभ क्याटलग’ जस्ता सुविधा समावेश छन् ।
यो प्लेटफर्मलाई कम्पनीहरूको आन्तरिक सफ्टवेयरहरू जस्तै सीआरएम, ईआरपी र बैंकिङ प्रणालीसँग समेत एकीकृत गर्न सकिन्छ । जसबाट अर्डर, भुक्तानी र अपोइन्टमेन्ट सम्बन्धी सूचना ग्राहकलाई स्वतः प्राप्त हुनेछन् ।
विशेष गरी बैंक, अस्पताल, शैक्षिक संस्था, होटल र ई-कमर्स क्षेत्रका लागि यो प्रविधि निकै फलदायी हुने आकाशटेलका उपाध्यक्ष राजन कोइरालाले बताएका छन् । उनका अनुसार अहिलेका ग्राहक फोन वा ईमेलभन्दा ह्वाट्सएपमार्फत सम्पर्क गर्न रुचाउने भएकाले व्यवसायहरू पनि ग्राहककै सहज पहुँच भएको ठाउँमा उपस्थित हुनु अनिवार्य भइसकेको छ ।
नेपाली व्यवसायलाई विश्व स्तरीय ह्वाट्सएप बिजनेस प्रविधि उपलब्ध गराउँदै ग्राहक सेवा, बिक्री, मार्केटिङ र अटोमेसनलाई एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सक्षम बनाउने कम्पनीको लक्ष्य रहेको उनले बताए ।
पछिल्लो अध्यावधिक: असार १, २०८३ १८:५७
