कम्पनी दर्तासँगै अब प्यान नम्बर पनि अनलाइनबाटै, आन्तरिक राजस्व कार्यालय धाउनु नपर्ने
असार १६, २०८३ १६:३४
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सुविधाका लागि नयाँ विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले अबदेखि कम्पनी दर्ता गर्ने सेवाग्राहीले स्थायी लेखा नम्बर (प्यान) र त्यसको प्रमाणपत्रका लागि छुट्टै प्रक्रिया अपनाउनु नपर्ने जानकारी दिएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबिच विद्युतीय प्रणालीलाई एक-आपसमा जोड्ने सम्बन्धमा गएको ३१ वैशाखमा समझदारी भएको थियो ।
सोही समझदारी अनुसार दुई निकायको प्रणालीलाई एकीकृत गरी विकास गरिएको नयाँ सफ्टवेयर प्रणाली सोमबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालयको ‘सीएएमआइएस’ प्रणालीमा ‘लाइभ’ भइसकेको छ ।
यो नयाँ विद्युतीय प्रणाली लागु भएसँगै अब उप्रान्त कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने नयाँ कम्पनीहरूले आफ्नो स्थायी लेखा नम्बर र सोको आधिकारिक प्रमाणपत्र प्राप्त गर्न राजस्व कार्यालय धाइरहनु पर्ने छैन । सेवाग्राहीले कम्पनी रजिष्ट्रारको कार्यालयकै 'केमिस' (CAMIS) प्रणालीमार्फत आफ्नो प्यान नम्बर र प्रमाणपत्र सिधै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।
यो व्यवस्थाले सरकारी सेवालाई प्रविधिमैत्री बनाउनुका साथै सेवाग्राही र सरोकारवाला वर्गको समय र लागत बचत गर्ने बताइएको छ । यसअघि कम्पनी दर्ता भएपछि प्यान नम्बर लिन आन्तरिक राजस्व कार्यालयमा थप कागजात बुझाउनुपर्ने तथा छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो ।

पछिल्लो अध्यावधिक: असार १६, २०८३ १६:५१
