दुई वर्षपछि बल्ल मौका, ८ लाखमा नेपालमै तयार विद्युतीय शवदाह मसिनमा मानव शव राखेर सफल परीक्षण
असार २, २०८३ ९:२
काठमाडौँ । वसुन्धरा अटो एन्ड इन्जिनियरिङ वर्क्सका सञ्चालक शिवरुद्र कर्माचार्यले तयार पारेको शव दाह मसिनको माध्यमबाट मानिसको शवको सफलता पूर्वक दाहसंस्कार सम्पन्न भएको छ । आइतबार साँझ ललितपुरको पाटनस्थित घाटमा शव जलाइएको हो ।
कर्माचार्यले उक्त मसिन बनाउने काम करिब साँढे दुई वर्ष पहिलेदेखि सुरु गरेका थिए । दुई वर्ष अघि तयार भएको मसिनमा विभिन्न जनावरको मासु राखेर जलाइए पनि मानव शव जलाउने काम हुन सकेको थिएन । त्यस क्रममा कर्माचार्यले दाहसंस्कारका लागि बेवारिसे लास खोजी गरेका थिए । तर, लास नपाउँदा पछिल्लो दुई वर्षदेखि मसिन कारखानामा थन्किएको थियो ।
कर्माचार्यले भने, “पाटनमा त्यहाँको घाट व्यवस्थापन समितिसँग कुरा गरेर लगभग दुई हप्ता पहिला मसिन राखेका थियौँ । केही शव पाएमा मसिन परीक्षण गर्ने योजना थियो । त्यहाँको उद्योग वाणिज्य सङ्घका पदाधिकारीको आफन्तको मृत्यु भएको रहेछ । उहाँको शवलाई मसिनबाट जलाउन तयार छौँ भन्नु भयो अनि परीक्षण गर्न पायौँ ।”
कर्माचार्यका अनुसार उक्त मसिन विद्युत् वा ब्याट्रीको माध्यमबाट चलाउन सकिन्छ । सुरुमा मसिनलाई तताउन र आगो सल्काउनका लागि घिउ वा तेलमा भिजाएर केही कपडा शव माथि राखेर आगो बालिन्छ । एक पटक मसिनमा आगो बल्न थालेपछि त्यहाँबाट आएको धुवाको माध्यमबाट पूर्ण रूपमा लास जलेर खरानी हुन्छ ।
आइतबार साँझ करिब एक घण्टामा शव जलेर पूर्ण रूपमा खरानी बनेको थियो । कर्माचार्यले भने, “सानो प्लास्टिकको झोला भरिने जति खरानी भएको थियो । त्यो परिवारका सदस्यले खोलामा बगाउन लैजानु भयो ।”
आठ लाख रुपैयाँमा तयार मसिन
कर्माचार्यका अनुसार उक्त मसिन तयार पार्न आठ लाख रुपैयाँ खर्च भएको छ । ६ फिट लम्बाइ र ३.५ फिट चौडाइको उक्त शवदाह मसिनको तौल करिब ८०० केजी छ । त्यस भित्र शव राख्न मिल्ने खालि भाग छ भने बाहिरबाट चारपाटे फलामले मोडिएको छ । मोहोडामा चार पत्र फलाम राखिएको छ । यसले गर्दा मसिन भित्र आगो बलिरहेको समयमा बाहिरी भाग तात्दैन । मसिनमा चार ओटा पङ्खा जडान गरिएका छन् ।
ती पङ्खाले मसिनभित्र हावा दिने काम गर्छन् । पङ्खा चलाउन मोटर राखिएको छ । मोटरबाट कति हावा दिने, सोही अनुसार एउटा, दुइटा वा चारै वटै पङ्खा चलाउने विकल्प रोज्न सकिन्छ ।
कर्माचार्यका अनुसार शवदाह मसिनमा प्रयोग भएका पङ्खा लगायतका सबै सामग्री नेपालकै हुन् । बिग्रिएको पानी तान्ने मोटरलाई त्यसमा राखिएको छ । उनले भने, “मसिनमा मैले प्रयोग गरेका सामान सबै नेपाली नै हुन् । विदेशबाट किनरै ल्याउनु पर्ने भनेको मोटर मात्रै हो । यसको कुनै पनि सामान बिग्रिए पनि म तुरुन्तै बनाउन सक्छु ।”
आइतबार परीक्षणका क्रममा मसिनमा आगो सल्काउनका लागि ६ मिटर कपडा, पाँच लिटर तेल र पाँच किलो घिउ प्रयोग गरिएको उनले बताए । “पहिलो चोटि परीक्षण भएकाले जति सामान ल्याइएको थियो, त्यो सबै प्रयोग गरिएको हो । तर त्यति धेरै प्रयोग गर्नुपर्छ भन्ने होइन । शवमा लगाएको लुगा र एक लिटर तेल वा घिउ राखेर नै आगो सल्काउन सकिन्छ ।” लगभग सात सय रुपैयाँ खर्चमा उक्त मसिनमा शव राखेर दाहसंस्कार गर्न सकिने उनले सुनाए ।
कर्माचार्यका अनुसार उक्त मसिनमा कुनै चिम्नी प्रयोग गरिएको छैन । उनले भने, “हाम्रो संस्कारमा लासलाई खुला रूपमा जलाउने चलन भएका कारण मसिनको माथिल्लो भाग खुला छोडिएको छ । यसले गर्दा लास जलिरहेको अवस्थामा हेर्न सकिन्छ । यसमा धुवा वा गन्ध पनि आउँदैन । त्यही भएर लासबाट आउने गन्ध हटाउन कुनै चिम्नीको प्रयोग भएको छैन ।”
यसअघि आफूले कीर्तिपुर नगरपालिकासँग सहकार्य गरेर समेत उक्त मसिनको परीक्षण गर्न खोजेको तर सफलता नमिलेको कर्माचार्यले बताए । तर, पछिल्लो समयमा भने केही सरकारी निकायले मसिनको बारेमा चासो देखाएको उनले सुनाए । उनले भने, “तर अहिलेसम्म यो मसिन सञ्चालनका लागि सहयोग मिलिसकेको छैन ।”
कर्माचार्यले बनाएको शवदाह मसिनको बारेमा जानकारीसहितको भिडिओ तल हेर्न सक्नु हुन्छः
केही दिन अघि मात्र राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर राजु थापाको डिजाइनमा तयार पारिएको शवदाह मसिनको पनि काभ्रेको बनेपामा मानव लास राखेर सफल परीक्षण गरिएको थियो ।
पछिल्लो अध्यावधिक: असार २, २०८३ ९:२४
