close

रास्वपा सांसद बब्लु गुप्ता मोटरसाइकलमा उभिएको भिडियो भाइरल, ट्राफिक प्रहरीले गर्‍यो जरिबाना

टेकपाना टेकपाना

साउन ८, २०८३ १२:४८

रास्वपा सांसद बब्लु गुप्ता मोटरसाइकलमा उभिएको भिडियो भाइरल, ट्राफिक प्रहरीले गर्‍यो जरिबाना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बब्लु गुप्ता मोटरसाइकलको पछाडि उभिएर यात्रा गरिरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडिओ सार्वजनिक भएपछि लापर्वाही गरी सवारी चलाएकाे भन्दै सांसद गुप्तासहितकाे टाेलीलाई जरिबाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहानले जानकारी दिएकाे छ । लापर्वाही तरिकाले सवारी चलाउनेलाई न्यूनतम ५०० देखि १५०० रूपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

भाइरल भिडियोमा उनी मोटरसाइकलको पछाडि उभिएर आफ्नो मोबाइल फोनबाट भिडियो खिचिरहेको देखिन्छ । गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । सर्वसाधारणलाई नियम पालना गर्न आग्रह गर्ने जनप्रतिनिधिले नै नियम उल्लङ्घन गरेको भन्दै उनीमाथि कारबाही हुनुपर्ने मागसमेत उठेको थियो । 

यता, सामाजिक सञ्जालमा आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमा एक स्टाटस लेख्दै सार्वजनिक रूपमा माफी मागेका छन् । 

उनले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भएको र त्यही खुसीको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडिओ बनाएको बताएका छन् । तर त्यस क्रममा आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको महसुस गरेको उनले उल्लेख गरेका छन् ।

“बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए । त्यही खुसी र रमाइलोको क्षणमा मजाक-मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडिओ बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु”, उनले फेसबुकमा स्टाटसमा लेखेका छन् ।

उनले अब आफ्नो यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट जानी वा नजानी भएको गल्तीका लागि क्षमा मागेका छन् ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८३ १३:८