close

परीक्षाको प्रश्नपत्र लिक र ठगीमा प्रयोग हुने गरेको भन्दै टेलिग्राममाथि भारतले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

असार ३, २०८३ ९:३६

परीक्षाको प्रश्नपत्र लिक र ठगीमा प्रयोग हुने गरेको भन्दै टेलिग्राममाथि भारतले लगायो प्रतिबन्ध

काठमाडौं । परीक्षाको प्रश्नपत्र लिक र त्यस क्रममा हुने ठगीको विषयलाई लिएर भारत सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ । सरकारको निर्देशनमा प्रमुख टेलिकम कम्पनीहरूले एप ब्लक गरेका छन् भने गुगल प्ले स्टोर र एप्पल एप स्टोरले पनि भारतमा आ-आफ्नो प्लेटफर्मबाट त्यसलाई हटाएका छन् ।

आगामी २१ जुनमा हुन गइरहेको नीट (NEET-UG) २०२६ को पुनःपरीक्षा अघि सङ्गठित गिरोहले परीक्षार्थीहरूलाई ठग्न टेलिग्रामको प्रयोग गरिरहेको बताइएको छ । यसैलाई कारण देखाउँदै नेसनल टेस्टिङ एजेन्सी (NTA) को सिफारिसमा सरकारले यस्तो कडा कदम चालेको हो । यसअघि गत महिना पनि प्रश्नपत्र बाहिरिएको (पेपर लिक) आरोपका कारण लाखौं विद्यार्थीको परीक्षाफल रद्द गरिएको थियो ।

सरकारी निर्देशनको पालना गर्दै रिलायन्स जियो, भारती एयरटेल र भोडाफोन आइडिया जस्ता दूरसञ्चार कम्पनीहरूले आफ्नो नेटवर्कमा टेलिग्राम ब्लक गर्न थालिसकेका छन् । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले एप चलाउन समस्या भइरहेको गुनासो गरेका छन् ।

एनटीएका अनुसार भारतमा टेलिग्राममाथिको यो अस्थायी प्रतिबन्ध परीक्षा र त्यसपछिको समयलाई समेटेर २२ जुनसम्म लागु हुनछ । यसका अतिरिक्त, टेलिग्रामलाई आगामी ३० जुनसम्मका लागि आफ्नो मेसेज एडिटिङ फिचर बन्द गर्न निर्देशन दिइएको छ । अधिकारीहरूका अनुसार ठगहरूले यो सुविधाको दुरुपयोग गर्दै पुरानो मेसेजमा नयाँ प्रश्नपत्रका फाइलहरू राखेर 'पहिले नै प्रश्नपत्र बाहिरिएको हो' भन्ने झुटो प्रमाण तयार पार्ने गरेका थिए ।

केही हजारदेखि लाखौं रुपैयाँसम्म मागेर नक्कली प्रश्नपत्र उपलब्ध गराउने दाबी गर्ने टेलिग्राम च्यानलहरू र ग्रुपहरू हटाउन भारतीय साइबर अपराध समन्वय केन्द्र, राज्यका प्रहरी बल र अन्य एजेन्सीहरूले महिनौंदेखि प्रयास गरिरहेका थिए । एनटीएले कुनै पनि प्रश्नपत्र बाहिर नआएको र ती दाबीहरू पूर्णतया भ्रामक रहेको स्पष्ट पारेको छ ।

यस विषयमा बोल्दै टेलिग्रामका संस्थापक तथा सीईओ पावेल दुरोभले भारत सरकारको कदमको कडा आलोचना गरेका छन् । उनले यो अस्थायी प्रतिबन्धले भारतका १५ करोडभन्दा बढी साधारण प्रयोगकर्ताहरूलाई बिना कारण सजाय दिएको बताएका छन् । एप बन्द गर्दैमा समस्या नरोकिने र प्रश्नपत्र लिक गर्नेहरू सजिलै अन्य एपहरूमा सर्ने उनको दाबी छ ।

यस प्रतिबन्धलाई लिएर कानुनी र साइबर विज्ञहरूले पनि प्रश्न उठाएका छन् । केही व्यक्तिले दुरुपयोग गरेको भरमा सिङ्गै एपमाथि पूर्ण प्रतिबन्ध लगाउनु कानुनी रूपमा उचित नहुने र यसले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको पहुँच र व्यापारिक सञ्चारमा गम्भीर असर पार्ने उनीहरूको तर्क छ । परीक्षा प्रणालीको मूल कमजोरीलाई सुधार्नुको साटो सर्वसाधारण प्रयोगकर्ताहरूलाई मात्र दुःख दिएको भन्दै एप प्रतिबन्ध गर्ने कदमको आलोचना भइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: असार ३, २०८३ ९:३६