राष्ट्र बैंकले ५०० को नयाँ नोट ल्याएसँगै सामाजिक सञ्जालमा एआई सिर्जित नक्कली फोटो भाइरल
असार ३, २०८३ १५:०
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहेको पाँच सय रुपैयाँको नयाँ नोट (२०२५ सिरिज) चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएसँगै सामाजिक सञ्जालमा एआई सिर्जित नक्कली तस्बिर भाइरल भइरहेको पाइएको छ ।
राष्ट्र बैंकले नयाँ शैली र स्वरूपको नोट जारी गरेको दाबी गर्दै फरक रूपरेखाका तस्बिर शेयर भएका छन् । विभिन्न टुल जाँच गर्दा ती तस्बिर पूर्ण रूपमा एआई निर्मित भएको पुष्टि भएको छ ।

राष्ट्र बैंकले जारी गरेको वास्तविक नोटको आकृति र यसअघि चलनचल्तीमा रहेको पाँच सय रुपैयाँको नोटको बनोटमा कुनै ठुलो भिन्नता देखिँदैन ।

नयाँ नोटमा मुख्य रूपमा गभर्नरको दस्तखत, मिति (२०२५ ईस्वी) र केही सुरक्षा विशेषता मात्र परिमार्जन गरिएका छन् भने नोटको आकार र रङ्ग साबिककै जस्तो रहेको छ । तर, सामाजिक सञ्जालमा भाइरल बनाइएका तस्बिरमा भने नोटको पछाडिको भागमा रहेको पाटेबाघको आकृति नै हटाइएको छ भने कतिपय फोटोमा नोटको आकार र रङ्ग नै पूरै परिवर्तन भएको दाबी समेत गरिएको छ ।
नयाँ नोटको सत्यता पहिचान गर्न राष्ट्र बैंकले यसमा रहेका विभिन्न सुरक्षा विशेषता बारे स्पष्ट पारेको छ । नोटलाई हेरेर, छामेर र ढल्काएर सजिलै पहिचान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । नोटलाई उज्यालोतर्फ राखेर हेर्दा नेपालको राष्ट्रिय फूल लालीगुराँसको वाटरमार्क देखिनुका साथै नोटको किनारा र कुनामा क्रमशः एज स्टोन र कोर्नर स्टोनका बुट्टा देखिन्छन् ।

त्यसैगरी, प्रकाशको दिशामा नोटलाई राखेर हेर्दा अग्रभाग र पृष्ठभागको बुट्टा आपसमा मिलेर अंग्रेजी अक्षर ‘NRB’ पूरा आकारमा जोडिएको देखिन्छ भने सुरक्षा धागोभित्र अङ्ग्रेजीमा ‘NRB’, दर अङ्क ‘500’ र बाघको आकृति एउटै सग्लो रेखा जस्तो देखिन्छ ।
त्यस्तै, हातले छामेर र नोटलाई ढल्काएर पनि नयाँ नोटको सक्कली रूप पहिचान गर्न सकिने आधुनिक प्रविधि यसमा प्रयोग गरिएको बैंकले जनाएको छ । नोटको अग्रभागमा लेखिएको नेपाल राष्ट्र बैंक, दर अङ्क र मुख्य बुट्टाहरूमा हातले स्पर्श गर्दा मसी बाक्लो र माथि उठेको महसुस हुन्छ भने दृष्टिविहीन नागरिकका लागि विशेष ब्रेल प्रणालीका उठेका थोप्ला राखिएका छन् ।
यसबाहेक नोटलाई तल-माथि ढल्काएर हेर्दा यसको सुरक्षा धागोको रङ रातोबाट हरियोमा परिणत हुन्छ भने ओभीआई मसी प्रयोग गरिएको स्थानमा सुनौलो रङ हरियोमा बदलिने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८३ १५:२६
