फाइल तस्बिर
काठमाडौंं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ ढंगले सुदृढ र विस्तार गर्नका लागि आईटीको विशाल फौज निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयबाट सदस्यता नवीकरणको डिजिटल सुरुवात गर्दै प्रचण्डले अबको लडाइँ सूचना प्रविधिको क्षेत्रमा केन्द्रित हुने बताए ।
पछिल्लो प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै प्रचण्डले नेकपा भौतिक उपस्थिति र सभा-समारोहमा बढी केन्द्रित भएकाले सोचेजस्तो परिणाम आउन नसकेको स्वीकार गरे ।
उनले भने, “हामी अलि बढी फिजिकल उपस्थिति र प्रशिक्षणतिर मात्रै केन्द्रित भयौँ, तर आईसीटी र डिजिटल प्लेटफर्मको प्रयोगमा हाम्रो ध्यान कम गयो । यो हाम्रो महत्त्वपूर्ण समीक्षा हो ।”
प्रतिक्रियावादी र बुर्जुवा शक्तिहरूले प्रविधिको दुरुपयोग गरी जनतामा भ्रम छरिरहेको आरोप लगाउँदै प्रचण्डले त्यसलाई चिर्नका लागि आईटी आर्मीको आवश्यकता औँल्याए ।
उनले भने, “एउटा आईटी सेना, एउटा विशाल फौज हामीले तयार गर्न सकिन्छ, र तयार गर्नुपर्ने नै भयो । बुर्जुवाहरूको क्वालिटीलाई जनताको क्वान्टिटी (संख्या) मार्फत परास्त गर्न अब हामीलाई विशाल आईटी आर्मी चाहियो ।”
उनले थपे, “हिजो जनयुद्धको बेला हामीले जनसेना भन्थ्यौँ, फौज भन्थ्यौँ । अब पार्टीलाई सुदृढ गर्न र नयाँ आवश्यकतासँग लड्नका लागि विशाल आईटी आर्मी हामीलाई चाहिन्छ । यो कम्युनिस्टहरूले मात्रै गर्न सक्ने कुरा हो ।”
संयोजक प्रचण्डले पार्टीका लाखौँ सदस्यहरूमध्ये कम्तीमा दुई–तीन लाखलाई मात्रै सूचना प्रविधिको प्रयोगमा सक्रिय बनाउन सके ठुलो उपलब्धि हुने विश्वास व्यक्त गरे । यसका लागि देशभरका कार्यकर्तालाई मोबाइल एप र अन्य डिजिटल माध्यमको न्यूनतम तालिम दिने तयारी भइरहेको समेत उनले जानकारी दिए ।
पार्टी केन्द्र अब नयाँ सोचका साथ अघि बढ्ने बताउँदै प्रचण्डले भने, "पुरानो कार्यशैलीले हामीलाई हराउँछ मात्रै, जिताउँदैन । त्यसैले आधुनिक प्रविधिको प्रयोग गरेर जनतासँग जोडिनु नै हाम्रो प्राथमिकता हुनुपर्छ ।" उनले सम्पूर्ण पार्टी पंक्तिलाई प्रविधिमैत्री बन्न र निराशाको खेती नगर्न समेत अपिल गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ५, २०८३ १६:५६
