close

अरूको कन्टेन्ट चोरेर ‘एक्स’ मा पैसा कमाउने दिन गए, लागु भयो एआईमा आधारित नयाँ नियम

टेकपाना टेकपाना

साउन २, २०८३ १३:४९

अरूको कन्टेन्ट चोरेर ‘एक्स’ मा पैसा कमाउने दिन गए, लागु भयो एआईमा आधारित नयाँ नियम

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ले अरूको ‘कन्टेन्ट’ कपी गरेर शेयर गर्ने र त्यसबाट पैसा कमाउने प्रयोगकर्तालाई निरुत्साहित गर्न नयाँ नियम ल्याएको छ । एक्सको राजस्व साझेदारी कार्यक्रममा आबद्ध क्रियटरका लागि अब अरूको भाइरल कन्टेन्ट सामान्य रूपमा ‘रि-पोस्ट’ मात्र गरेर पैसा कमाउन सम्भव नहुने भएको हो ।

कम्पनीले सामग्री चोरी (कन्टेन्ट थेफ्ट) र ‘इन्गेजमेन्ट म्यानिपुलेसन’ (नक्कली अन्तर्क्रिया) विरुद्ध कडा कदम चाल्ने घोषणा गरेको छ । यसका लागि नयाँ एआई-सञ्चालित ‘डिटेक्सन सिस्टम’ सुरु गरिएको छ । यसले कपी गरिएका पोस्ट सजिलै पहिचान गर्नेछ भने विज्ञापनबापतको आम्दानी वास्तविक क्रियटरलाई उपलब्ध गराउनेछ ।

यो नयाँ प्रणाली एक्सको आफ्नै एआई मोडल ‘ग्रोक’को पछिल्लो भर्सनमा आधारित छ । एक्सका प्रडक्ट प्रमुख निकिता बियरका अनुसार नयाँ एआईले अघिल्लो मोडलको तुलनामा तीन गुणा बढी प्रभावकारी रूपमा कपी गरिएका कन्टेन्ट पहिचान गर्न सक्छ जसका कारण अरूको कन्टेन्ट प्रयोग गरेर फाइदा उठाउन गाह्रो हुनेछ ।

इन्स्टाग्राम, फेसबुक र रेडिट जस्ता अन्य सामाजिक सञ्जालले पनि कपिड कन्टेन्ट रोक्न विभिन्न प्रणाली ल्याएका छन् । तर, एक्सले यसमा प्रत्यक्ष आर्थिक कारबाहीको बाटो रोजेको छ ।

नयाँ नीतिअनुसार अबदेखि कपी गरिएका पोस्टबाट हुने विज्ञापन आम्दानी त्यस्ता पोस्ट शेयर गर्ने खाताले पाउने छैनन् । बरु, उक्त कन्टेन्टको ओरिजिनल क्रिएटरको खातामा त्यो रकम पठाइनेछ । यो नियमले भिडिओमा वाटरमार्क राखेर, छोटो क्लिप जोडेर वा अन्य सामान्य भिजुअल परिवर्तन गरेर सामग्रीलाई आफ्नै जस्तो देखाउन खोज्ने प्रयासलाई पनि रोक्ने एक्सको दाबी छ ।

यो प्रणाली भिडिओमा मात्र नभई कपी गरिएका टेक्स्ट पोस्टमा पनि लागु हुनेछ । निकिता बियरका अनुसार धेरै प्रयोगकर्ताले चर्चित भनाइ वा वन-लाइनर कपी गरेर पोस्ट गर्ने गरेका छन् । 

हालैको एक परीक्षणका क्रममा एक्सले करिब १५ लाख चोरी भएका पोस्ट पहिचान गरेको थियो । यो नयाँ प्रणाली लागु भएपछि, कपी गर्नेका तर्फ जान लागेको १० लाख डलरभन्दा बढी रकम वास्तविक क्रियटरलाई पठाइने कम्पनीले जनाएको छ ।

सामग्री चोरी बाहेक एक्सले ‘इन्गेजमेन्ट बेट’ (अर्थात् कृत्रिम रूपमा फलोअर्स, लाइक वा कमेन्ट बढाउने खेल) माथि पनि कारबाही गर्ने रणनिति बनाएको छ । कसैलाई फलो ब्याक गर्ने वा रिप्लाई गर्न आग्रह गरेर कृत्रिम अन्तर्क्रिया बढाउन खोज्ने प्रयोगकर्तालाई सजाय दिने भएको छ ।

नयाँ नियम अनुसार यदि कुनै क्रियटरले तीन वा सोभन्दा बढी पटक यस्तो उपाय अपनाएको पाइएमा उसलाई एक्सको मोनिटाइजेसन कार्यक्रमबाट हटाइनेछ र खाता नै सस्पेन्डसम्म हुन सक्नेछ । 

बियरले यसअघि युट्युब स्टार ‘मिस्टर बिस्ट’ जस्ता ठुला क्रियटरले पनि इन्गेजमेन्ट बढाउन यस्ता प्रलोभन दिने गरेको भन्दै आलोचना गरेका थिए ।

यसका साथै एक्सले स्वचालित स्पाम अकाउन्ट विरुद्धको अभियान पनि तीव्र बनाएको छ । बियरका अनुसार प्लेटफर्मले प्रतिमिनेट २०८ वटा बट्स अकाउन्ट पत्ता लगाएर सस्पेन्ड गरिरहेको छ । एक्सले प्रयोगकर्तालाई अन्य प्लेटफर्मका सामग्री कपी गर्नुको सट्टा सिधै एक्समा नै मौलिक सामग्री बनाउन प्रोत्साहन गरिरहेको छ । यसका लागि नयाँ भिडिओ रेकर्डिङ र एडिटिङका फिचर पनि थपिएका छन् ।

पछिल्लो अध्यावधिक: साउन २, २०८३ १४:२७