close

यूएईमा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

टेकपाना टेकपाना

असार ५, २०८३ १९:१७

यूएईमा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर १५ वर्ष तोकेको छ । यससँगै यूएई १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो अरब देश बनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । बिहीबार स्वीकृत एक प्रस्तावअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई व्यक्तिगत सामाजिक सञ्जाल खाता खोल्न, प्रयोग गर्न वा सञ्चालन गर्न निषेध गरिएको छ । 

यूएई सरकारको मिडिया कार्यालयका अनुसार यो प्रतिबन्धका कारण बालबालिकाहरूले सामाजिक सञ्जालमा सामग्रीहरू पोस्ट, कमेन्ट तथा शेयर गर्न सक्ने छैनन् । साथै, सार्वजनिक ग्रुपहरूमा पनि सहभागी हुन पाउने छैनन् । यता, १५ र १६ वर्षका किशोरकिशोरीहरूलाई थप सुरक्षा उपायहरू अपनाएर सामाजिक सञ्जाल प्रयोग गर्न अनुमति दिइने भएको छ । 

यसअन्तर्गत उमेर अनुकूल सामग्री नियन्त्रण (कन्टेन्ट कन्ट्रोल), अपरिचित प्रयोगकर्ताहरूसँगको कुराकानीमा प्रतिबन्ध, स्क्रिन टाइम व्यवस्थापन र अभिभावकीय निगरानी (पेरेन्टल सुपरभिजन) जस्ता सुरक्षा उपायहरू समावेश हुनेछन् ।

यी नियमहरू यूएईमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूमा लागु हुनेछन् । सामाजिक सञ्जाल कम्पनीहरूले डिजिटल पहिचान, आर्टिफिसियल इन्टेजिलेन्स (एआई) समर्थित प्रविधिसहित कडा उमेर प्रमाणीकरणका उपायहरू लागु गर्नुपर्नेछ । साथै, सामाजिक सञ्जाल प्रयोगका लागि उमेर स्वघोषणालाई वैध प्रमाणका रूपमा स्वीकार गर्न पाइने छैन । 

प्लेटफर्महरूले १५ वर्षभन्दा कम उमेरका बालबालिकाले बनाएका खाताहरू पनि निष्क्रिय गर्नुपर्नेछ । उमेर प्रमाणीकरण प्रणालीलाई छल्ने प्रयास पनि रोक्नुपर्नेछ भने कम्पनीहरूले बालबालिकाको व्यक्तिगत डेटाहरू लक्षित विज्ञापन वा व्यवहारगत प्रोफाइलिङका लागि प्रयोग गर्न पाउने छैनन् ।

बालबालिकाहरू अनुपयुक्त सामग्रीको पहुँचमा पुग्ने, अनलाइनमा असुरक्षित कुराकानीमा फस्ने, सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने र उनीहरूको व्यक्तिगत विवरण सङ्कलन हुने लगायत चिन्ता र जोखिमहरूलाई सम्बोधन गर्न यी उपायहरू ल्याइएको यूएई सरकारले जनाएको छ । सामाजिक सञ्जाल कम्पनीहरूलाई नयाँ नियमहरू पालना गर्न १२ महिनाको समयसीमा तोकिएको छ ।

पछिल्लो समय बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने देशहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । हालै मात्र बेलायतले पनि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुन ल्याएको थियो । अस्ट्रेलिया र इन्डोनेसियाले यसअघि नै प्रतिबन्ध लगाइसकेका छन् ।

यस्तै, क्यानडा र युरोपका ग्रीस, स्पेन लगायत देशहरूले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने योजना बनाएका छन् । अनलाइन प्लेटफर्महरूले बालबालिकामा पारिरहेको प्रभावबारे विश्वभर बढ्दो चिन्तालाई सम्बोधन गर्ने प्रयासस्वरूप विभिन्न देशहरूले यस्तो प्रतिबन्ध लागु गरेका वा गर्ने तयारी गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असार ५, २०८३ १९:२७