close

राराको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु, ट्रेकिङ रुटमै उच्च गतिको इन्टरनेट पुग्ने

टेकपाना टेकपाना

असार १६, २०८३ १३:५७

राराको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सुरु, ट्रेकिङ रुटमै उच्च गतिको इन्टरनेट पुग्ने

काठमाडौं । नेपाल टेलिकमले मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार सोमबार (१५ असार) देखि यो सेवा सुरु भएको हो । रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित मुर्माटप राराताल र विभिन्न हिमशृंखलाको मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय गन्तव्य मानिन्छ ।

टेलिकमका अनुसार फोरजी सेवा विस्तारसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्चगतिको मोबाइल इन्टरनेट सहज रूपमा प्रयोग गर्न सक्नेछन् । यसले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने टेलिकमको दाबी छ । अब पर्यटकहरूले यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमार्फत सहज रूपमा आदानप्रदान गर्न सक्नेछन् ।

कम्पनीले आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तारले रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । साथै स्थानीय होटल, होमस्टे तथा अन्य व्यवसायीले डिजिटल सेवा अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने र यसबाट स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमका अनुसार फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको टावरले मुर्माटपमा मात्र सेवा नदिई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनको रूपमा पनि काम गर्नेछ । यसले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मोबाइल तथा डेटा सेवाको पहुँच र गुणस्तर थप सुधार हुने कम्पनीको विश्वास छ ।

नेपाल टेलिकमले यसअघि २०७६ मंसिर १९ गतेदेखि राराताल क्षेत्रमा पूर्ण क्षमतामा फोरजी सेवा सञ्चालन गर्दै आएको थियो । अहिले मुर्माटपसम्म सेवा विस्तार भएपछि रारा क्षेत्रको डिजिटल कनेक्टिभिटी थप सुदृढ भएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८३ १३:५७