close

गैरकानुनी सम्पत्ति छानबिनका लागि ईमेलसहित विभिन्न माध्यमबाट २ महिनामै ११ हजार बढी उजुरी

टेकपाना टेकपाना

असार २०, २०८३ १६:५६

गैरकानुनी सम्पत्ति छानबिनका लागि ईमेलसहित विभिन्न माध्यमबाट २ महिनामै ११ हजार बढी उजुरी

काठमाडौं । सार्वजनिक पदमा रहेका व्यक्तिले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति छानबिनका लागि गठित ‘सम्पत्ति छानबिन आयोग, २०८३’ मा हालसम्म ११ हजारभन्दा बढी उजुरी प्राप्त भएको छ । सरकारले आफ्नो १०० दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्न आज शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो ।

सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा बोल्दै भने, “हामीले सम्पत्ति छानबिन आयोग २०८३ गठन गरेका छौँ । यसले हालसम्म ११ हजारभन्दा बढी उजुरी प्राप्त गरिसकेको छ र त्यसको आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ ।”

आयोगले ३१ वैशाखमा सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले अस्वाभाविक र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणसमक्ष आह्वान गरेको थियो । राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूले आफ्नो वा परिवारका सदस्य, आफन्त तथा अन्य व्यक्तिको नाममा स्वदेश वा विदेशमा राखेको अवैध सम्पत्तिबारे जानकारी भएमा उजुरी दिन आयोगले आग्रह गरेको हो ।

आयोगको सूचना अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका कुनै पनि व्यक्तिले गैरकानुनी रूपमा सम्पत्ति थुपारेको सूचना, जानकारी वा प्रमाण भएमा जो कोहीले पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो । उजुरी दिँदा उपलब्ध भएसम्मका प्रमाण उल्लेख गर्नुपर्नेछ भने सम्भव भएमा त्यस्ता व्यक्तिको सम्पर्क नम्बर र ईमेल ठेगानासहितको विवरण पनि उपलब्ध गराउन भनिएको थियो ।

उजुरीकर्ताले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर खुलाएर काठमाडौँको केशरमहलस्थित आयोगको कार्यालयमा स्वयम् उपस्थित भई, हुलाक मार्फत वा आयोगको आधिकारिक ईमेल ठेगाना [email protected] मा उजुरी पठाउन सक्ने व्यवस्था गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असार २०, २०८३ १७:७