close

‘मेयर सरुवा’ सम्बन्धी भाइरल भिडिओबारे सांसद गेलाल- ‘सन्दर्भ नखुलाई सानो क्लिप मात्र राखियो’

टेकपाना टेकपाना

असार २१, २०८३ १८:२

‘मेयर सरुवा’ सम्बन्धी भाइरल भिडिओबारे सांसद गेलाल- ‘सन्दर्भ नखुलाई सानो क्लिप मात्र राखियो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारशमणि गेलालले सामाजिक सञ्जालमा भाइरल भएको ‘मेयर सरुवा’ सम्बन्धी आफ्नो भिडिओबारे स्पष्टीकरण दिएका छन् । उक्त भिडिओमा पूरा सन्दर्भ नखुलाई नियतवश सानो अंश मात्रै सार्वजनिक गरिएको दाबी गर्दै उनले ‘मेयर सरुवा’ को विषयलाई राजनीतिक र साङ्केतिक अर्थमा बुझ्न आग्रह गरेका छन् ।

टेकपानासँग कुरा गर्दै सांसद गेलालले उक्त भिडिओ शनिबार (२० असार) को भएको जानकारी दिए । आफूले जनताका समस्या सुन्ने क्रममा खिचिएको भिडिओलाई तोडमोड गरेर हालिएको उनको दाबी छ ।

"यो भिडिओ कसले र किन खिच्यो भन्ने मलाई थाहा भएन । जनताले मलाई फोन गरेर आफ्नो क्षेत्रका समस्या सुनाइरहेका थिए, त्यही बेला म बोलिरहेको आधा मात्र भिडिओ काटेर राखिएको रहेछ," उनले भने ।

स्थानीय जनप्रतिनिधिले काम नगरेको भन्दै मतदाताबाट निकै गुनासो आउने गरेको उल्लेख गर्दै सांसद गेलालले ‘सरुवा’ शब्दलाई चुनावी प्रक्रियासँग जोडेर व्याख्या गरेका छन् । उनले भने, "जनताले कर्मचारीको सरुवा गरिदिन माग गरिरहेका हुन्छन् । मैले कर्मचारी मात्र होइन, काम नगर्ने मेयरलाई नै सरुवा गर्नुपर्छ भनेको हुँ । जनप्रतिनिधिको हकमा सरुवा हुनु भनेको चुनावमार्फत पदबाट हट्नु हो । आगामी निर्वाचनको तयारी गर्नुस् र उहाँलाई घर पठाउनुस् भन्ने मेरो आशय थियो ।"

उनले राजनीतिमा जनप्रतिनिधिलाई हटाउने विषयलाई आफूले नयाँ र साङ्केतिक शब्दका रूपमा ‘सरुवा’ प्रयोग गरेको दाबी गरे।

आफूलाई संविधान र कानुनको ज्ञान नभएको भन्दै भइरहेको आलोचनाको खण्डन गर्दै गेलालले आफू संवैधानिक व्यवस्थाप्रति जानकार रहेको बताए । यद्यपि, काम नगर्ने जनप्रतिनिधिलाई कार्यकालको बीचमै फिर्ता बोलाउने (राइट टु रिकल) प्रावधान कानुनमै हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले सुनाए ।

उनले थपे, "जनप्रतिनिधि बन्ने बेला जनताको खुट्टा ढोग्ने तर जितेपछि उनीहरूको पीडा नसुन्ने प्रवृत्तिविरुद्ध मैले बोलेको हुँ । काम नगर्नेलाई बीचमै घर पठाउने व्यवस्था हुनुपर्छ भन्ने मेरो अडान हो ।"

सांसद गेलालले आफूले सदनभित्र र बाहिर सधैँ जनताको आवाज उठाउँदै आएको र आगामी दिनमा पनि जनसरोकारका विषयमा बोल्न नछोड्ने सुनाए ।

शनिबारदेखि सांसद गेलालले टेलिफोनमा कुराकानी गर्दै  ‘मेयरलाई नै सरुवा गर्नुपर्छ’ भनेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडिओ सार्वजनिक भएपछि धेरै प्रयोगकर्ताहरूले मेयरको सरुवा हुने कानुनी प्रावधान नै नभएको भन्दै सांसदको कानुनी ज्ञानको स्तरमाथि प्रश्न उठाएका थिए ।

पछिल्लो अध्यावधिक: असार २१, २०८३ १८:२०