close

हेलमेट नलगाई बाइक चलाएपछि मुख्यमन्त्रीको घरमै पुगेर ट्राफिकले काट्यो चिट

टेकपाना टेकपाना

असार १८, २०८३ १४:०

हेलमेट नलगाई बाइक चलाएपछि मुख्यमन्त्रीको घरमै पुगेर ट्राफिकले काट्यो चिट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेलमेट नलगाई बाइक चलाएको भिडिओ सार्वजनिक भएपछि ट्राफिकले कारबाही गरेको छ । जिल्ला ट्राफिक कार्यालय कैलालीले शाहको घरमै पुगेर चिट काटेको हो ।

मुख्यमन्त्रीका स्वकीय सचिव प्रयाग खनालले मंगलबार टिकटकमा एक भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओमा मुख्यमन्त्री शाह घरको कम्पाउन्डभित्र हेलमेट नलगाई बाइक चलाइरहेको देखिएका थिए । सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार भिडिओलाई नै प्रमाण मानेर उनलाई कारबाही गरिएको हो । मुख्यमन्त्री शाहलाई ‘हेलमेट नलगाई सवारी चलाएको’ कसुरमा ५०० रुपैयाँ जरिबाना गरिएको छ ।

जरिबानाका क्रममा मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै प्रहरीलाई धन्यवाद समेत दिएका छन् । प्रहरी निरीक्षक आचार्यले टेकपानासँग भने, “नियम मिच्ने जोसुकै भए पनि कारबाहीको भागिदार हुनुपर्छ। मुख्यमन्त्रीज्यूले पनि आफ्नो गल्ती बोध गर्नुभएको छ र ट्राफिक प्रहरीको सक्रियताका लागि धन्यवाद दिनुभएको छ।”

पछिल्लो अध्यावधिक: असार १८, २०८३ १५:१२