close

जब सांसदले नै छिमेकी देशका प्रख्यात अभिनेता प्रभासको निधन भएको झुटो दाबीसहित श्रद्धाञ्जली दिए...

टेकपाना टेकपाना

असार २२, २०८३ ११:९

जब सांसदले नै छिमेकी देशका प्रख्यात अभिनेता प्रभासको निधन भएको झुटो दाबीसहित श्रद्धाञ्जली दिए...

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य (सांसद) हर्क साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । दैनिक अनेकौं पोस्ट गरहने उनले आइतबार राति एक झुटो तथा विवादास्पद पोस्ट लेखे ।

बिना कुनै तथ्य जाँच दक्षिण भारतीय अभिनेता प्रभासको निधन भएको भन्दै उनले श्रद्धाञ्जली नै दिएका थिए । सांसद साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेज Harka Sampang A Revolution मा अङ्ग्रेजीमा लेखेका थिए, "Rest in peace, Prabas ! You were a great great actor."

लगत्तै सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुन थाल्यो । आइतबार रातिको आफ्नो सो पोस्ट उनले सोमबार बिहान उठेपछि डिलिट गरेका छन् ।

फेसबुकमा १४ लाखभन्दा बढी फलोअर्स भएका साम्पाङको यो गैरजिम्मेवारपूर्ण पोस्ट सार्वजनिक हुनासाथ इन्टरनेटभर तीव्र गतिमा फैलियो र धेरै प्रयोगकर्ताहरूले यसलाई विभिन्न प्लेटफर्महरूमा शेयर गर्न थाले ।

साम्पाङको यो अपरिपक्व र बिना तथ्य जाँचको पोस्टप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निकै आक्रोश पोखेका छन् । उनको पोस्टमा टिप्पणी गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, "अधुरो ज्ञान र आधा जानकारीभन्दा खतरनाक हर्क साम्पाङ हुन् ।"

यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, "अधुरो ज्ञान निकै खतरनाक हुन्छ ।" आम नागरिक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एउटा जिम्मेवार जनप्रतिनिधिले लाखौँ फलोअर्सका बीचमा यस्तो संवेदनशील झुटो हल्ला (डेथ होक्स) फैलाउनु अत्यन्तै गैरजिम्मेवारपूर्ण कार्य भएको भन्दै उनको चर्को आलोचना गरिरहेका छन् ।

टेकपानाले टेलिफोन सम्पर्क गरी 'कसरी झुक्किनु भयो ?' भनेर प्रश्न सोध्ने बित्तिकै साम्पाङले 'एकछिन है' भन्दै फोन काटे । दोहोर्‍याएर कल गर्दा उठाएनन् ।

 

के हो वास्तविकता ?

वास्तविकता के हो भने दक्षिण भारतीय अभिनेता प्रभास जीवित र पूर्ण रूपमा स्वस्थ छन् र उनको मृत्युको खबर पूर्णतः झुटो हो । यो भ्रम प्रभासको आगामी चलचित्र फौजी (Fauzi) को सुटिङ युनिटसँग जोडिएको एउटा दुःखद सडक दुर्घटनाका कारण सिर्जना भएको हुनसक्ने अनुमान गरिएको छ ।

४ मे, २०२६ का दिन हैदराबादको बाहिरी इलाका अब्दुलपुरमेटमा फौजीको सुटिङ लोकेसनतर्फ जाँदै गरेको एउटा प्रोडक्सन गाडी अनियन्त्रित भई सडकको सिमेन्ट डिभाइडरमा ठोक्किँदा एक क्रु मेम्बर (रामा राजु) को घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ५ जना गम्भीर घाइते भएका थिए । उक्त दुःखद घटनापछि फिल्मको सुटिङ केही समयका लागि रोकिएको थियो ।

सोही दुर्घटनाको समाचारलाई लिएर सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण हेडलाइन र स्क्रिनशटहरूलाई विना कुनै सत्यता प्रमाणीकरण सांसद साम्पाङले सिधै अभिनेता प्रभासकै मृत्यु भएको बुझी श्रद्धाञ्जली दिएको हुनसक्ने ठानिएको छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ ११:१०