युवाले बनाए एआईमा आधारित ट्राफिक आई, प्रहरीले २४ सै घण्टा सीसीटिभी भिडिओ हेरेर बस्नु नपर्ने
असार २२, २०८३ ७:५८
काठमाडौं । सूचना प्रविधिसँग सम्बन्धित विषयमा हालै स्नातक उत्तीर्ण गरेका तीन जना साथी मिलेर नेपालको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने प्रणाली तयार पारेका छन् । रोहन खनाल, साहिल मल्ल र शुभम् कडरिया मिलेर ‘ट्राफिक आई’ नामक प्रणाली तयार पारेका हुन् ।
लुम्बिनी प्रदेश प्रहरीले गत ३० जेठदेखि १ असारसम्म ‘ह्याकाथन फर सेफ्टी’ सञ्चालन गरेको थियो । उक्त ह्याकाथनमा ३६ घण्टामा ट्राफिक प्रहरीलाई उपयोगी हुने प्रविधि बनाउनुपर्ने चुनौती दिइएको थियो । यसका लागि सार्वजनिक सुरक्षा, आपत्कालीन र सहायता प्रणाली, प्रहरी सञ्चालन र समन्वय र खुला स्रोत सूचना, साइबर अपराध र खतरा विश्लेषण गरि तीन वटा थिम अन्तर्गत रहेर परियोजना तयार पार्नुपर्ने थियो ।
सोही ह्याकाथनमा टिम युक्ती डट ईएक्सई(YUKTI.EXE) का तर्फबाट सहभागी यी तीन जना साथीहरू मिलेर सार्वजनिक सुरक्षा र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित ‘ट्राफिक आई’ परियोजना तयार पारेका हुन् । यो प्रणाली सडकबाट ट्राफिकलाई हटाउने भन्दा पनि ट्राफिक व्यवस्थापन प्रणालीलाई थप सुधार गर्नका लागि तयार पारिएको टोलिका सदस्य रोहन खनाल बताउँछन् ।
उनले भने, “ट्राफिक प्रहरीले सडकको निगरानीको लागि सीसीटीभी क्यामेराको प्रयोग गर्छ । सीसीटीभी फुटेजलाई म्यानुअल्ली हेरेर निगरानी गर्नुपर्ने अवस्था छ । हामीले एआईबाट नै २४ सै घण्टा निगरानी गर्न सक्ने प्रणाली तयार पारेका हौँ ।”

ह्याकाथनमा सहभागी भइरहने उनीहरूले ट्राफिक व्यवस्थापनमा एआईको प्रयोगको अवधारण बारे पहिलेदेखि नै सोचिरहेका थिए । लुम्बिनी प्रहरीले ह्याकाथनको आयोजना गर्दा राखेको थिमसँग उनीहरूको अवधारणा मेल खाएपछि ह्याकाथनमा सहभागी भएर उक्त परियोजनाका लागि एआई मोडेल विकास गरेका हुन् ।
ह्याकाथनका क्रममा ट्राफिक आईमा निगरानीका तीन वटा फिचर उपलब्ध गराइएको थियो । खनालका अनुसार यो एआईले सडकमा हेलमेट नलाइ हिँडेको सवारी र चालकको पहिचान गर्ने, सवारी साधनको नम्बर प्लेट छुट्याएर त्यसको फोटो खिच्ने र सडकमा सवारीको चाप बढेमा तत्काल ट्राफिक बढेको अलर्ट पठाउने सुविधाहरू राखिएको थियो ।
ह्याकाथन पुरा भइसकेपछि पनि यस प्रणालीमा थप नयाँ फिचर ल्याउने काम भइरहेका उनले बताए । ह्याकाथनको समयमा यो प्रणालीले सवारीसाधनको नम्बर प्लेटको फोटो मात्र खिच्ने गर्थ्यो । अहिले यसमा ओसीआर (अप्टिकल क्यारेक्टर रिकग्निसन) प्रविधि थप्ने काम भइरहेको छ । ओसीआरले फोटोमा भएको नम्बरलाई पहिचान गरी डिजिटल अक्षरमा रूपान्तरण गर्छ । यसले गर्दा सवारी साधनको नम्बर डेटाबेसमा सिधै सेभ गर्न र पछि खोज्न सजिलो हुन्छ । यसले कुनै नम्बर प्लेट राखेर सर्च गर्दा उक्त सवारीसाधन ट्राफिकको कुन कुन क्यामेरामा कैद भएको थियो भन्ने खोज्न सहज हुने उनले बताए । उनले भने, “नियम मिच्ने, हराएका वा चोरी भएका सवारीसाधन खोज्न यो निकै उपयोगी हुन सक्छ ।”
ह्याकाथनको छोटो अवधिमा तयार पारिएको मोडेललाई अहिले थप डेटा सेट प्रयोग गरेर अझै भरपर्दो बनाउने काम समेत भइरहेको उनले बताए । डेटालाई व्यवस्थित रूपमा ड्याशबोर्डमा देखाउने र त्यसबाट प्रहरीले सजिलै विश्लेषण गर्न सक्ने गरी सफ्टवेयरको ब्याकइन्डमा सुधार गर्ने काम समेत उनीहरूले गरिरहेका छन् ।
ट्राफिक आईलाई ट्राफिक व्यवस्थापनका साथै सडकमा हुने झगडा वा राष्ट्रिय निकुञ्ज आसपासका सडकमा जनावरको आवतजावत डिटेक्ट गर्न समेत प्रयोग गर्न सकिने उनले सुनाए। यसले सडकसँगै नागरिक र जनावरको सुरक्षामा समेत सहयोग पुर्याउने उनको भनाइ छ ।
यो प्रणालीलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गर्ने हो भने डेटा भण्डारणका लागि डिजिटल पूर्वाधार पनि धेरै मात्रामा चाहिने बताइएको छ । पहिलेदेखि नै जडान भइसकेका सीसीटीभी क्यामेरालाई प्रयोग गरेर भिडिओ लिने भएपनि ती फुटेजलाई एआईमार्फत रियल-टाइम (तत्कालै) विश्लेषण गर्नका लागि ‘ब्याकइन्ड’ मा उच्च क्षमताको कम्प्युटेसनल पावर आवश्यक पर्छ । यसका लागि शक्तिशाली जीपीयू सर्भर, पर्याप्त डेटा भण्डारण क्षमता र एकीकृत सफ्टवेयर ड्याशबोर्ड निर्माण गर्नुपर्ने हुन्छ ।
हाल नमुनाका रूपमा यो प्रोजेक्ट तयार भएपनि वास्तवमा दैनिक रूपमा प्रयोगका लागि सोही अनुसारको पूर्वाधार राख्न नेपाल प्रहरी लगायतका निकायको सहयोग आवश्यक पर्ने उनले बताए । यो प्रविधि प्रयोगमा ल्याउन सकिएमा सीसीटिभी फुटेज चौबिसै घण्टा मानवीय निगरानी नगर्नु नपर्ने र ती जनशक्ति ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउन खटिन सक्ने उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ ७:५९
