close

काठमाडौंमा फाइभजीको चर्चा हुँदा कर्णाली र दुर्गम क्षेत्र टुजीमै सीमित: सांसद् विदुषी राणा

टेकपाना टेकपाना

असार २२, २०८३ १६:३८

काठमाडौंमा फाइभजीको चर्चा हुँदा कर्णाली र दुर्गम क्षेत्र टुजीमै सीमित: सांसद् विदुषी राणा

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् विदुषी राणाले सङ्घीय राजधानी काठमाडौंमा फाइभजी प्रविधिको चर्चा भइरहँदा कर्णाली र विकट हिमाली क्षेत्रका नागरिक अझै पनि सामान्य टुजी सेवामै सीमित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् राणाले दुर्गम क्षेत्रमा सञ्चार पहुँचको अभावले दैनिक जनजीवन प्रभावित भएको बताएकी हुन् ।

बैठकमा सांसद् राणाले भनिन्, “काठमाडौंमा फाइभजीको चर्चा भइरहेको छ, तर कर्णाली र अन्य दुर्गम हिमाली क्षेत्रका धेरै नागरिक आज पनि कमजोर टुजी सेवामै सीमित छन् ।” विशेषगरी माथिल्लो डोल्पाको शे-फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकाका बासिन्दाले सञ्चार असुविधाकै कारण शिक्षा, स्वास्थ्य, बैंकिङ तथा सरकारी सेवा प्राप्त गर्न ठुलो कठिनाइ भोगिरहेको उनले उल्लेख गरिन् । यस्तै अवस्था हुम्ला, मुगु, बाजुरा, जाजरकोट तथा अन्य दुर्गम पहाडी र हिमाली जिल्लामा पनि रहेको उनको भनाइ थियो ।

“काठमाडौंको एउटा विद्यार्थीले एक क्लिकमै संसारको उत्कृष्ट कक्षाकोठासँग जोडिन सक्छन्, तर डोल्पा र हुम्लाका विद्यार्थीले सामान्य इन्टरनेट सिग्नल खोज्न पनि पहाड चढ्नु पर्छ,” उनले भनिन्, “कुनै गर्भवती आमाले स्वास्थ्यकर्मीको सल्लाह लिन, कुनै किसानले बजारको जानकारी लिन, अनि कुनै युवाले अनलाइन अवसर खोज्न समेत सञ्चारको अभावसँग संघर्ष गर्नुपरेको छ ।”

दुर्गम क्षेत्रमा सञ्चार सुविधा विलासिता नभएर ‘जीवन रेखा’ (लाइफलाइन) भएको उनले उल्लेख गरिन् । सांसद् राणाले कर्णाली तथा देशका सबै दुर्गम हिमाली क्षेत्रलाई उच्च प्राथमिकतामा राखी आगामी कार्तिक महिनाभित्र सञ्चार सेवाको भरपर्दो विस्तार गर्न सरकारसँग माग गरेकी छिन् ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ १६:३८