close

अब वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दा र क्षतिपूर्तिको अनलाइन ट्र्याकिङका लागि छुट्टै वेब पोर्टल

टेकपाना टेकपाना

असार २१, २०८३ १२:१८

अब वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दा र क्षतिपूर्तिको अनलाइन ट्र्याकिङका लागि छुट्टै वेब पोर्टल

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण र पीडितलाई छिटो न्याय दिलाउन सरकारले मुद्दा, अनुसन्धान तथा क्षतिपूर्ति ट्र्याकिङ गर्ने छुट्टै अनलाइन पोर्टल ujuri.dofe.gov.np सञ्चालनमा ल्याउने भएको छ । हाल यो सफ्टवेयर तयार भई परीक्षण (टेस्टिङ) को चरणमा रहेको छ ।

सरकार गठन भएको १०० दिनको अवधिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा क्षेत्रमा भएका सुधारको रूपमा यो पोर्टल समावेश छ । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुने ठगी रोक्ने कार्यमा यो प्रणाली प्रभावकारी हुने विश्वास लिएको छ ।

वैदेशिक रोजगारसम्बन्धी विवाद र उजुरीहरूलाई छिटो टुङ्गोमा पुर्‍याउन विगतका पुराना फाइलहरूलाई डिजिटल रूपान्तरण गर्ने कार्य तीव्र पारिएको छ । विवरण अनुसार २०५७ सालदेखिका वैदेशिक रोजगारसँग सम्बन्धित ११ हजार ५२८ वटा मुद्दा तथा उजुरीका फाइलहरू डिजिटलाइज्ड गरि सकिएको छ ।

१७ वटा प्रणालीहरू समेटेर एकीकृत 'श्रम संसार' बन्ने

श्रम मन्त्रालय मातहत छरिएर रहेका विभिन्न सेवा र प्रविधिहरूलाई एकै ठाउँमा ल्याउने तयारी पनि सुरु भएको छ । मन्त्रालय अन्तर्गत सञ्चालित १७ वटा अनलाइन प्रणालीहरूलाई एकीकृत गर्नका लागि प्रारम्भिक डिजाइन कागजात सम्पन्न भइसकेको छ । यी सबै प्रणालीहरूलाई अब एकीकृत रूपमा 'श्रम संसार' (Shram Sansar) पोर्टलमा समेटेर सञ्चालन गरिनेछ ।

यसका साथै वैदेशिक रोजगारीको सम्पूर्ण आप्रवासन चक्र (Migration Cycle) लाई डिजिटल बनाउनका लागि 'वैदेशिक रोजगार प्रणाली डिजिटलाइजेिन' को अध्ययन सम्पन्न भई हाल एकीकृत डिजिटल प्रणाली निर्माणको काम अघि बढेको छ ।

'इलिगल एजेन्ट क्लिन-अप पोर्टल' र एक्सन कमाण्ड सेन्टर

वैदेशिक रोजगारीका नाममा हुने अवैध एजेन्टहरूको सक्रियता र ठगी न्यूनीकरण गर्न मन्त्रालयमा एक्सन कमाण्ड सेन्टर स्थापना गरिएको छ । यस सेन्टरमार्फत हालसम्म १,६६३ वटा गुनासोहरूको सम्बोधन गरिएको छ ।

अवैध एजेन्टहरूलाई कारबाहीको दायरामा ल्याउन अपरेसन इलिगल एजेन्ट क्लिन-अप पोर्टल तथा सो सम्बन्धी विशेष अभियानको सुरुवात गरिएको छ । त्यस्तै, गुनासो सुनुवाइका लागि सञ्चालित 'श्रमाधान कल सेन्टर' मार्फत ५,३९१ वटा गुनासोहरू समाधान गरिएको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूका लागि २४ सै घण्टा (२४/७) श्रम सहायता कक्षको व्यवस्था मिलाइएको छ ।

एकै दिनमा अनलाइन श्रम स्वीकृति र डिजिटल स्वास्थ्य परीक्षण

श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा विकेन्द्रित र प्रविधिमैत्री बनाउँदै अब स्थानीय तहमा कार्यरत रोजगार संयोजकमार्फत एकै दिनमा श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउनका लागि नयाँ डिजिटल वेब पोर्टल तयार पारिएको छ, जुन हाल परीक्षणको क्रममा रहेको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८३ १२:१९