close

कुवेत र इराकका नेपालीलाई दूतावासको आग्रहः हवाई आक्रमणका दृश्य सामाजिक सञ्जालमा शेयर नगर्नुहोस्

टेकपाना टेकपाना

असार २८, २०८३ २१:१७

कुवेत र इराकका नेपालीलाई दूतावासको आग्रहः हवाई आक्रमणका दृश्य सामाजिक सञ्जालमा शेयर नगर्नुहोस्

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपाली नागरिकहरूलाई हवाई आक्रमण, प्रतिरक्षासम्बन्धी घटना र घटनास्थलका तस्बिर तथा भिडियो नखिच्न र सामाजिक सञ्जालमा पोस्ट वा शेयर नगर्न आग्रह गरेको छ । आइतबार सूचना जारी गर्दै दूतावासले कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न सबै नेपालीलाई अनुरोध गरेको हो । 

मध्यपूर्वमा अमेरिका र इरानबिचको तनाव पुनः चर्किन थालेपछि दूतावासले यस्तो अनुरोध गरेको हो । कुवेत, इराक, संयुक्त अरब इमिरेट्स लगायत मध्यपूर्वका देशहरूले इरानबाट हुने आक्रमण तथा घटनास्थलहरूको फोटो र भिडियो सामाजिक सञ्जालमा पोस्ट तथा शेयर गर्न कडा प्रतिबन्ध लगाएका छन् । कडा सामाजिक सञ्जालसम्बन्धी कानुन उल्लङ्घन गर्दै यस्ता सामग्री सार्वजनिक गर्नुलाई राष्ट्रिय सुरक्षामाथि असर पुर्‍याउने कार्य मानिन्छ । यस्तो कसुरमा दोषी ठहरिए जेल सजाय वा विदेशी नागरिक भए देशनिकालासमेत हुन सक्ने व्यवस्था छ ।

त्यसैले स्थानीय कानुन र सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्न नेपाली समुदायलाई दूतावासले सचेत गराएको हो । त्यस्तै, अफवाहपूर्ण सूचनाहरू सामाजिक सञ्जालमा शेयर नगर्न, सरकारले प्रतिबन्ध लगाएका कार्य नगर्न तथा शंकास्पद वा अपरिचित वस्तु नछुन पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासले साइरन बजेमा घर वा कार्यस्थलबाहिर भए नजिकको भवनभित्र सुरक्षित स्थानमा बस्न र भवनभित्र रहे सुरक्षित स्थानमै रहन आग्रह गरेको छ । साथै, झ्याल वा बाल्कनीबाट बाहिर नहेर्न पनि अनुरोध गरिएको छ । कुवेतमा रहेका नेपालीलाई कन्सुलर वा अन्य सेवा आवश्यक परे नेपाली राजदूतावासको नम्बर ९६५-२५३२१९०३/६/५ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । आपत्कालीन अवस्थाका लागि प्रहरी तथा एम्बुलेन्सको आपत्कालीन नम्बर ११२ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८३ २१:४०