close

चौतर्फी विरोधपछि ‘मास्टर्नी’ को विवादित गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे ‍माफी

टेकपाना टेकपाना

साउन १, २०८३ २२:३८

चौतर्फी विरोधपछि ‘मास्टर्नी’ को विवादित गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे ‍माफी

काठमाडौं । चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतमा प्रयोग गरिएका शब्द र दृश्यहरू विवादित भएपछि निर्माण पक्षले उक्त सामाजिक सञ्जाल प्लेटफर्महरूबाट हटाएको छ । अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्दै उक्त गीत हटाएको जानकारी दिएका छन् । साथै उनीहरूले दर्शक तथा शिक्षक समुदायसँग माफी मागेका छन् ।

भदौ १२ गते प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको गीतमा प्रयोग भएका द्विअर्थी र अश्लील भनिएका शब्दहरूका कारण केही दिनदेखि सामाजिक सञ्जाल र मिडियामा तीव्र आलोचना भइरहेको थियो । नेपाल शिक्षक महासंघ, महिला शिक्षक समाज लगायतले विज्ञप्ति नै निकालेर गीतले शिक्षण पेसाको गरिमामा आँच पुर्‍याएको भन्दै आपत्ति जनाएका थिए ।

चलचित्रकी निर्मात्री तथा मुख्य अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा एक लामो स्ट्याटस लेख्दै आफ्नो र टिमको मनसाय कसैलाई अपमान गर्ने नभएको दाबी गरेकी छिन् । उनले लेखेकी छिन्, “कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मेरो वा मेरो टिमको मनसाय कदापि थिएन । यद्यपि, हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु ।”

कार्कीले उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारका लागि मात्र बनाइएको भन्दै अबदेखि सिर्जना र विषयवस्तु छनौटमा अझ बढी संवेदनशील र जिम्मेवार रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

त्यस्तै, गीतका सर्जक, गायक तथा मोडल दुर्गेश थापाले पनि दर्शकहरूलाई भगवानको रूपमा सम्बोधन गर्दै आलोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन् । उनले भनेका छन्, “उक्त गीतका केही शब्द तथा प्रस्तुतीकरणका कारण आदरणीय दर्शक र शिक्षक-शिक्षिकाको भावनामा ठेस पुगेको महसुस गरेका छौँ । सोही गाम्भीर्यतालाई मनन गर्दै ‘मास्टर्नी’ गीतलाई दुर्गेश थापा युट्युब च्यानल र अन्य सामाजिक सञ्जालबाट आधिकारिक रूपमा हटाइएको जानकारी गराउँदछु ।”

जुलाई १४ मा सार्वजनिक भएको उक्त गीतमा दुर्गेश थापा र बबिना किराँतीको स्वर रहेको थियो । गीतमा ‘म्याथ सिक्ने’ भनिएको अंशलाई सुन्दा अश्लील गाली जस्तो सुनिएको र शिक्षिकालाई लक्षित गरी अमर्यादित शब्दहरू प्रयोग गरिएको भन्दै शिक्षक संगठनहरू विरोधमा उत्रिएका थिए । चर्चित फिल्मकर्मी प्रकाश सायमी लगायतले पनि यसलाई सस्तो लोकप्रियताका लागि गरिएको अश्लील कार्य भन्दै आलोचना गरेका थिए ।

सुरुमा कलाकारहरूले ‘डर्टी माइन्ड’ हुनेले मात्रै यसलाई गलत रूपमा बुझेको भन्दै प्रतिवाद गरे पनि चौतर्फी दबाब र चलचित्र बहिष्कारको चेतावनीपछि अन्ततः गीत हटाउन उनीहरू बाध्य भएका हुन् ।

प्रियंका कार्कीले ‘आयंका फिल्म्स’ मार्फत निर्माणमा पाइला चालेको यो चलचित्रलाई सुवेन्दु घोषले निर्देशन गरेका हुन् ।

पछिल्लो अध्यावधिक: साउन १, २०८३ २२:५६