close

‘गौतम बुद्ध बिहारका हुन्’ भनेपछि भारतीय कमेडियन समय रैना विवादमा

टेकपाना टेकपाना

साउन २, २०८३ १०:५३

‘गौतम बुद्ध बिहारका हुन्’ भनेपछि भारतीय कमेडियन समय रैना विवादमा

काठमाडौं । भारतीय कमेडियन समय रैनाले गौतम बुद्धका विषयमा दिएको एउटा अभिव्यक्तिलाई लिएर नेपाली दर्शकमाझ विवाद उत्पन्न भएको छ । युट्युब कार्यक्रम ‘इन्डियाज गट ल्याटेन्ट’ को तेस्रो शृङ्खलामा उनले व्यक्त गरेको विचारका कारण नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रोशित बनेका हुन् ।

उक्त भिडिओको करिब २९ औं मिनेटमा साक्षी झा नामकी युवती आफ्नो प्रस्तुतिका लागि मञ्चमा प्रवेश गर्छिन् । उनले करिब एक मिनेट प्रस्तुति दिएपछि समय रैनाले उनको ज्ञानको स्तर कमजोर रहेको आशय व्यक्त गर्छन् । ती युवतीले आफूलाई पुरुष मन नपर्ने तर्क गरिरहेका बेला प्यानलमा रहेका भारतीय सङ्गीतकार तथा गायक विशाल दडलानीले उनको विवरण पढेर सुनाउँछन् । वास्तवमा ती युवती भोजपुरी भाषामा रिल बनाएर चर्चित बनेकी हुन्छिन्, तर शोमा भने बिहारी समुदायमाथि व्यङ्ग्य गर्न आएकी हुन्छिन् ।

यसै क्रममा समय रैनाले बिहारीहरू बुद्धिमानी हुने र उनीहरूले ‘यूपीएससी’ जस्तो कठिन परीक्षा उत्तीर्ण गर्ने भन्दै उनीहरूको बचाउ गर्छन् । सोही प्रसङ्गमा ती युवतीलाई लक्षित गर्दै रैनाले “तिमीलाई थाहा छ, गौतम बुद्ध पनि बिहारबाट थिए !” भनी टिप्पणी गर्छन् । रैनाको यही भनाइ सार्वजनिक भएपछि नेपाली दर्शकले उनको आलोचना गरिरहेका छन् ।

यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली दर्शकले उक्त भिडिओको कमेन्ट बक्समा ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ (Gautama Buddha was born in Nepal) भन्दै कमेन्टको वर्षा गराइरहेका छन् । सामाजिक सञ्जालमा समेत यस भनाइको विरोध भइरहेको छ र धेरैले यसलाई भ्रमपूर्ण अभिव्यक्तिका रूपमा टिप्पणी गरिरहेका छन् ।

ऐतिहासिक तथ्य अनुसार गौतम बुद्धको जन्म इसापूर्व छैटौं शताब्दीमा शाक्य राजवंशको राजकुमार सिद्धार्थ गौतमको रूपमा हालको नेपालमा पर्ने लुम्बिनीमा भएको थियो । लुम्बिनी हाल संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक धार्मिक स्थल हो । यहाँ प्राचीन सम्राट अशोकद्वारा स्थापित अशोक स्तम्भ र मायादेवी मन्दिर रहेका छन्, जसले बुद्धको जन्मस्थल नेपालमै रहेको पुष्टि गर्छन् । 

बुद्धले आफ्नो जीवनकालमा ज्ञान प्राप्त गरेपछि भारतका विभिन्न स्थानमा धर्मोपदेश र साधना गरेको भए तापनि उनको वास्तविक जन्मस्थल भने नेपालको लुम्बिनी नै हो ।

पछिल्लो अध्यावधिक: साउन २, २०८३ १०:५४