काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि अन्तरक्रिया गरिरहेको अकाउन्ट वास्तविक हो कि एआई सिर्जित हो भन्ने पहिचान गर्न सहज बनाउने उद्देश्यले नयाँ फिचर सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले ‘फेसबुक भेरिफाइड’ नामक निःशुल्क भेरिफाइड ब्याज सुरु गरेको हो ।
कम्पनीका अनुसार प्रयोगकर्ताले छोटो सेल्फी भिडिओ पठाएपछि यो चेकमार्क लिन सक्छन् । एआई प्रविधिको बढ्दो विकाससँगै नक्कली प्रोफाइल, वास्तविक देखिने तस्बिर र स्वचालित कुराकानी तयार पार्न सजिलो भइरहेको समयमा फेसबुकले यो कदम चालेको हो । नयाँ ब्याजको मुख्य उद्देश्य अनलाइन अन्तरक्रियालाई थप विश्वसनीय बनाउनु रहेको फेसबुकले जनाएको छ । विशेषगरी अपरिचित व्यक्तिसँग जोडिनुपर्ने क्षेत्रमा यसको भूमिका महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ ।
सार्वजनिक व्यक्तित्व वा सशुल्क सब्सक्रिप्सनसँग जोडिएका परम्परागत ब्लु टिक (भेरिफिकेसन ब्याज) भन्दा फरक यो ‘फेसबुक भेरिफाइड’ ब्याज साधारण प्रयोगकर्ताका लागि लक्षित गरी डिजाइन गरिएको हो ।
यो ब्याज पाउनका लागि योग्य प्रयोगकर्ताहरूले एउटा छोटो सेल्फी भिडिओ रेकर्ड गर्नुपर्ने हुन्छ । उक्त भिडिओलाई फेसबुकले प्रोफाइलमा भएका तस्बिरसँग तुलना गरेर सम्बन्धित अकाउन्ट वास्तविक व्यक्तिकै हो भनी पुष्टि गर्नेछ ।
कम्पनीका अनुसार यो प्रमाणीकरण प्रक्रिया पूर्ण रूपमा निःशुल्क छ र सामान्यतया यसका लागि केही मिनेट मात्र लाग्नेछ । यद्यपि, यो ब्याज पाउन प्रयोगकर्ताले फेसबुकको ‘ट्रस्ट एन्ड सेफ्टी’ सम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । जसमा ठगी, स्क्याम वा अन्य कुनै पनि प्रकारका भ्रामक गतिविधिमा संलग्न नभएको हुनुपर्नेछ ।
हाल यो सुविधा १८ वर्ष वा सोभन्दा बढी उमेरका र राम्रो रेकर्ड भएका व्यक्तिगत अकाउन्टका लागि मात्र उपलब्ध गराइएको फेसबुकले जनाएको छ । फेसबुक पेज वा ‘प्रोफेसनल मोड’ प्रयोग गरिरहेका प्रोफाइलका लागि भने यो सेवा उपलब्ध हुने छैन ।
एक पटक अकाउन्ट प्रमाणित भइसकेपछि यो ब्याज प्रोफाइल, फेसबुक मार्केटप्लेस, डेटिङ प्रोफाइल र ग्रुप जस्ता व्यक्तिको वास्तविक पहिचान आवश्यक पर्ने ठाउँमा देखिनेछ । कम्पनीका अनुसार छिट्टै यस ब्याजलाई फेसबुक फिडका पोस्टमा पनि विस्तार गरिनेछ ।
प्रयोगकर्ताले एक पटक मात्र प्रमाणीकरण प्रक्रिया पूरा गरे पुग्ने र त्यसपछि कुनै अतिरिक्त शुल्क बिना नै यो ब्याज फेसबुकका विभिन्न स्थानमा देखिने फेसबुकले जनाएको छ ।
यो ब्याजले सम्बन्धित अकाउन्ट वास्तविक व्यक्तिको हो भनी पुष्टि गरे तापनि फेसबुकले यसको अर्थ प्लेटफर्मले उक्त प्रयोगकर्ताको व्यवहारलाई अनुमोदन वा ग्यारेन्टी गरेको भने नहुने स्पष्ट पारेको छ । प्रमाणित भएका अकाउन्टले पनि फेसबुकको कम्युनिटी स्टान्डर्ड्स र व्यापारिक नीति अनिवार्य पालना गर्नुपर्नेछ । वास्तविक व्यक्तिले पनि प्लेटफर्मको नियम उल्लंघन गर्न सक्ने भएकाले यो प्रमाणीकरणलाई व्यवहारको ग्यारेन्टीका रूपमा लिन नसकिने फेसबुकको भनाइ छ ।
फेसबुकले भनेको छ, “फेसबुक भेरिफाइड ब्याजको अर्थ यो प्रोफाइल एक वास्तविक व्यक्तिको हो, जसले सेल्फी प्रमाणीकरण पूरा गरेको छ र हाम्रो विश्वास तथा सुरक्षा मापदण्ड पूरा गरेको छ ।”
फेसबुकका अनुसार यस फिचरलाई हाल चरणबद्ध रूपमा लागू गरिँदैछ । सुरुवाती चरणमा केही निश्चित देशबाट गरिनेछ भने पछि विश्वभर विस्तार गरिनेछ । नेपालमा भने यो फिचर हालसम्म उपलब्ध भइसकेको छैन ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८३ १२:५९
