close

युट्युब र एआईको सहयोगमा १ अर्ब बढी ठगी गर्ने १८ वर्षे किशोर पक्राउ, यस्तो थियो ‘मास्टरप्लान’

टेकपाना टेकपाना

साउन ९, २०८३ १३:४१

युट्युब र एआईको सहयोगमा १ अर्ब बढी ठगी गर्ने १८ वर्षे किशोर पक्राउ, यस्तो थियो ‘मास्टरप्लान’

काठमाडौं । एआई र युट्युबको प्रयोग गरी ६५ करोड भारतीय रुपैयाँ (एक अर्ब चार करोड रुपैयाँ) भन्दा बढीको साइबर ठगी गरेको आरोपमा भारतमा १८ वर्षीय युवक पक्राउ परेका छन् । भारतको गुजरातस्थित सुरत साइबर क्राइम सेलले यस ठगीका मुख्य योजनाकार भनिएका उत्तर प्रदेशको कासगञ्ज निवासी १८ वर्षीय रोहित वीरेन्द्रसिंह शाक्यलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार शाक्यले ११ कक्षामै आफ्नो पढाइ छाडेका थिए । उनले सफ्टवेयर इन्जिनियरिङको कुनै औपचारिक अध्ययन बिना नै युट्युब ट्युटोरियल र एआई टुलको प्रयोग गरेर १२१ वटा नक्कली बैंकिङ तथा सरकारी एप (एपीके फाइल) बनाएका थिए । विशेषगरी पीएनबी वन, एसबीआई, एक्सिस बैंक, युको बैंक, बिगबास्केट, डिमार्ट र पीएम-किसान जस्ता स्थापित ब्रान्ड तथा सरकारी योजनाको हुबहु नक्कल गरी ती नक्कली एप बनाएका थिए ।

अनुसन्धानका क्रममा शाक्यले ठगीका लागि ‘टु-एप प्रणाली’ विकास गरेको खुलेको छ । यसअन्तर्गत एउटा नक्कली एप पीडितको मोबाइलमा इन्स्टल हुन्थ्यो भने अर्को ‘एड्मिन एप’ ठगको नियन्त्रणमा रहन्थ्यो । यही प्रणालीको मद्दतले साइबर अपराधीले पीडितको मोबाइलबाट रियल-टाइममा ओटीपी, बैंकिङ पासवर्ड र अन्य संवेदनशील व्यक्तिगत विवरण चोर्ने गर्दथे ।

शाक्यले यी नक्कली एप एकमुष्ट रूपमा नबेचेर व्यावसायिक रूपमा ‘सब्स्क्रिप्सन मोडल’ मा चलाएका थिए । उनले झारखण्डको कुख्यात जामताडा, हरियाणा र राजस्थानका साइबर अपराधी गिरोहलाई प्रति एप मासिक करिब १५ हजार रुपैयाँ भाडा लिएर उपलब्ध गराउँथे । यी एप खरिदकर्तालाई सुरक्षित रूपमा टेलिग्राममार्फत पठाउने गरिएको थियो ।

यो ठगी सञ्जालको पहुँच निकै ठुलो रहेको अनुसन्धानले देखाएको छ । शाक्यले बनाएका नक्कली एप हालसम्म २१ हजार ६ सय ७२ भन्दा बढी पटक डाउनलोड भएका थिए । यस जालमा परेर भारतभरका २ हजार ९ सय २८ जना सर्वसाधारणले करिब ६५ करोड भारतिय रुपैयाँ गुमाइसकेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

सुरतको अडाजन क्षेत्रका एक व्यापारीमाथि भएको ठगीबाट यो घटना सतहमा आएको हो । ती व्यापारीलाई ह्वाट्सएपमार्फत नक्कली ‘पीएनबी वन’ एपको लिङ्क आएको थियो । उनले त्यसलाई सक्कली सम्झेर डाउनलोड गरेलगत्तै उनको बैंक खाताबाट ५ लाख रुपैयाँ काटिएको थियो । पीडित व्यापारीले तत्काल राष्ट्रिय साइबर क्राइम हेल्पलाइनमा उजुरी दिएपछि सुरत सिटी साइबर क्राइम सेलले यसमाथि अनुसन्धान सुरु गरेको थियो ।

अतिरिक्त प्रहरी आयुक्त करणराज वाघेलाको नेतृत्वमा भएको प्राविधिक अनुसन्धान र डिजिटल फरेन्सिक विश्लेषणले उक्त नक्कली एपको डेभलपर रोहित शाक्य भएको पत्ता लगायो । अन्ततः प्रहरीले उनलाई उत्तर प्रदेशको कानपुरस्थित एउटा होटलबाट पक्राउ गर्‍यो, जहाँ उनी आफ्नी प्रेमिकालाई भेट्न पुगेका थिए ।

प्रहरीले शाक्यको साथबाट ल्यापटप, मोबाइल फोन र अन्य डिजिटल उपकरण बरामद गरेको छ । यस सञ्जालमा जोडिएका अन्य आरोपीको खोजी र घटनाको थप अनुसन्धान भइरहेको सुरत प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८३ १३:४२