close

देशभर साढे आठ हजार सार्वजनिक स्थानमा निःशूल्क इन्टरनेट

टेकपाना टेकपाना

मंसिर १३, २०७६ १७:५

देशभर साढे आठ हजार सार्वजनिक स्थानमा निःशूल्क इन्टरनेट

सरकारले हालसम्म नेपालका साढे आठ हजार भन्दा बढी सार्वजनिक स्थानमा निःशूल्क ब्रोडब्याण्ड इन्टरेनट पुर्‍याएको छ । सञ्चार मन्त्रालयले तयार पारेको आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक प्रतिवेदन अनुसार हालसम्म ८ हजार ६ सय ८३ सय ५७ सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशका सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, स्वास्थ्य केन्द्र तथा सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गर्ने योजनाको साथ तीन वर्ष अघि निःशूल्क ब्रोडब्याण्ड विस्तारको परियोजना अघि बढाएको थियो ।

परियोजना सुरु भएको तीन वर्षको अवधिमा ८ हजार ६ सय भन्दा बढी सार्वजनिक स्थानका जनता कार्यक्रमबाट लाभान्वित भएका हुन् । प्राधिकरणले ग्रामीण दुरसञ्चार विकास कोषको रकम प्रयोग गरि सुरु गरेको परियोजनाको कार्यक्रम विभिन्न १८ ओटा प्याकेजमा सञ्चालनमा छ ।

जसमा प्राधिकरणले भुकम्प प्रभावित जिल्लाका लागि तीन ओटा वटा प्याकेज सञ्चालन गरेको थियो । भुकम्प प्रभावित ११ जिल्ला अन्तरगतको परियोजना नेपाल टेलिकम, सुबिसु केवलनेट प्राली र मर्कन्टायल कम्युनिकेन प्रालिले पाएका थिए । उक्त परियोजना यस अघि नै सम्पन्न भइसेकेको छ ।

त्यसबाहेकका अन्य जिल्लाका लागि १५ प्याकेज रहेका छन् । वर्ल्डलिंक, मर्कन्टायल, भायनेट कम्यूनिकेशन र सुविसु लगायतका सेवा प्रदायक कम्पनीले ती प्याकेज हात पारेका छन् । जसअन्तरगत हालसम्म ५१.२५ प्रतिशत कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार १८ प्याकेजमा सञ्चालित परियोजनाबाट कुल सात सय २३ ओटा स्थानीय तहका कार्यालय, पाँच हजार नौं सय १३ वडा कार्यलय, पाँच हजार ८ सय एक विद्यालय र चार हजार पाँच सय चार स्वास्थ्य संस्था गरि कुल १८ हजार नौं सय ४१ सार्वजनिक स्थानलाई समेटिनेछ ।

हालसम्म त्यसमध्येकै ८ हजार ६ सय ८३ स्थानमा इन्टरनेट जडान भएको हो । जसमा ३ सय ९९ वटा स्थानीय निकायको कार्यालय, तीन हजार तीन सय २९ वडा कार्यालय, दुई हजार ६ सय ७२ विद्यालय र दुई हजार दुई सय ८३ स्वास्थ्य संस्था रहेका छन् ।

अर्थात हालसम्म लक्षको ५५.१९ प्रतिशत स्थानीय निकायको कार्यालय, ५६.३ प्रतिशत वडा कार्यालय, ४६.०६ प्रतिशत विद्यालय र ५०.६९ प्रतिशत स्वास्थ्य संस्थामा तीब्र गतिको इन्टरनेट विस्तारको काम सम्पन्न भएको छ । अझै ८ हजार दुई सय ५८ स्थानमा इन्टरनेट जडान हुन बाँकी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१