close

फेसबुकको विपद सहायता फिचरमा अपडेट, अब ह्वाट्सएपले पनि प्रकोपमा साथ दिने

टेकपाना टेकपाना

मंसिर १७, २०७६ ११:७

फेसबुकको विपद सहायता फिचरमा अपडेट, अब ह्वाट्सएपले पनि प्रकोपमा साथ दिने

सामाजिक सञ्जाल फेसबुकले आफ्नो क्राइसिस रेस्पोन्स एवम् विपदको रिपोर्टिङ तथा सञ्चार सम्बन्धि फिचरलाई विस्तार गरेको छ । फिचरमा कम्पनीले आज मात्रै ह्वाट्सएप इन्टिग्रेशन, प्रभावित व्यक्तिबाटै ताजा सूचना सेयर गर्ने र यसको ‘डाटा फर गुड’ टुललाई स्थानान्तरण तथा पुनःस्थापना म्यापको रुपमा विस्तार गर्ने लगायतका नयाँ फिचर सार्वजनिक गरेको हो । 

फेसबुकको विपद सहायता फिचर हालसम्म ८० भन्दा बढी मुलुकमा भएका तीन सय भन्दा बढी संकटमा प्रयोगमा आइसकेको छ । खासगरी ‘क्राइसिस रेस्पोन्स’ विपद लगत्तै परिवार, साथी तथा समुदायहरुबीच एक आपसको साथ र सहयोगका लागि मद्दत पुग्ने केही सिमित फिचरबाट सुरु भएको थियो । करिब दुई वर्ष अघि फेसबुकले केन्द्रीकृत ‘क्राइसिस रेस्पोन्स’ अन्तरगत सेफ्टी चेक (सुरक्षित रहेको जानकारी दिने), कम्प्युनिटी हेल्प (सामुदायिक सहायता) र फण्डराइजर्स (राहत उद्धार कोष जुटाउने) संयक्त्र तयार पारेको थियो । 

फेसबुकले आज त्यसैमा थप गरेको फिचरले प्रभावित क्षेत्रका मानिसलाई आफूले त्यहाँ के देखिरहेका छन् वा त्यस सम्बन्धि अरुले थाहा पाउनुपर्ने कुरा हरु के के छन् (उदाहरणको रुपमा बिल्डिङ भत्केको, सडक बन्द भएको जस्ता सूचना) भन्ने ताजा सूचना सेयर गर्ने सुविधा दिनेछ । यस अघिको सहायताका लागि अनुरोध तथा उपलब्ध सहायताको विषय सेयर गर्ने फिचरका अतिरीक्त यी नयाँ फिचर ल्याइएको हो । 

यसका साथै अब फेसबुकको क्राइसिस रेस्पोन्सले ह्वाट्सएपमा समेत काम गर्नेछ । यद्यपी क्राइसिस रेस्पोन्स सम्बन्धि सबै फिचर भने ह्वाट्सएपमा आउने छैनन् । तैपनि प्रभावित क्षेत्रका जनताले फेसबुक म्यासेन्जरमा मात्र नभएर म्यासेजिङ एप ह्वाट्सएपमार्फत समेत सहायताका लागि अनुरोध तथा सहायताका लागि तयार रहेको जानकारी गराउन सक्नेछन् । 

फेसबुकको डाटा फर गुड टुलहरुमा समेत अपडेट तथा विस्तार गर्ने काम भइरहेको छ । सयभन्दा बढी संगठनसँगको साझेदारीमा फेसबुकले विपद नक्सा उपलब्ध गराउनेछ भने त्यसमार्फत पहिचान भएको तथा संयोजित तथ्याङ्कका आधारमा राहत तथा उद्धार सम्बन्धि संस्थालाई आपूर्ति कार्यमा सघाउनेछ । 

राज्य तथा स्थानीय अधिकारीहरु, संघीय उद्धारक संस्थाहरुका लागि सहयोग पुग्नेगरी अपडेटहरु ल्याइएको भन्दै फेसबुकले साझेदारीका लागि डाइरेक्ट रिलिफ र नेशनल अलायन्स फर पब्लिक सेफ्टि जीआईएस फाउण्डेसन लगायतका विभिन्न संघसंगठनलाई धन्यवाद व्यक्त गरेको छ । 

कम्पनीले स्थानान्तरणको विषयमा विज्ञहरुसँगको परामर्शमा आफ्नो डिजास्टर म्याप (विपद नक्सा) मा समेत सुधार गरिरहेको छ । म्यापमा आवागमनको ढाँचा र पर्यटकीय जनसंख्या लगायतका विषय परिस्कृत गरिएको फेसबुकले  जनाएको छ । यी फिचरहरु सार्वजनिक रुपमा उपलब्ध भइसकेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३