close

करीब २७ करोड फेसबुक प्रयोगकर्ताको गाेप्य डाटा बाहिरियो, तपाईंको त परेन ?

टेकपाना टेकपाना

पुस ४, २०७६ १४:४६

करीब २७ करोड फेसबुक प्रयोगकर्ताको गाेप्य डाटा बाहिरियो, तपाईंको त परेन ?

के तपाईं फेसबुक प्रयोग गरिरहनुभएको छ ? यदी हो भने तपाईंले यो सामग्री पढ्न जरुरी छ । २६ करोड ७० लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताको निजी डाटा एउटा असुरक्षित डाटाबेसमा फेला परेको छ । जसमा फोन नम्बर र नामहरु रहेका छन् ।

यी डाटाहरुमा बिना पासवर्ड वेबसाइटमार्फत जोसुकैले पहुँच पाउन सक्ने बताइएको छ । प्रयोगकर्ताको डाटा सेयर गरेको भन्दै फेसबुकको आलोचना भइरहेको छ । बारम्बार रिपोर्ट गर्दा समेत निजी डाटा लिक गराउने क्रम नरोकिएको भन्दै कतिपय प्रयोगकर्ताले यो सामाजिक सञ्जाल प्रयोग गर्न छाड्न समेत थालेका छन् ।

लिक भएका डाटाहरु साइबर हमलाकारीले फेसबुक एपीआईको प्रयोग गरी गैरकानूनी रुपमा हात पारेको आशंका गरिएको छ । प्रयोगकर्ताका डाटा डाउनलोड गर्न सकिने गरी गएको १२ डिसेम्बरमा ह्याकरको फोरममा राखिएको थियो । वेबसाइटमा लिक गरिएका व्यक्तिगत डाटाको दुरुपयोग गरी अभियानकै रुपमा ‘स्पाम एसएमएस’ तथा ‘फिसिङ’ हुन सक्ने जोखिम छ ।

फेला परेका २६ करोड ७१ लख ४० हजार ४३६ प्रयोगकर्ताको व्यक्तिगत डाटामध्ये बढीजसो अमेरिकी प्रयोगकर्ताको रहेको बताइएको छ । केही दिन अघि मात्रै प्रयोगकर्ताले लोकेशन अफ गर्दा समेत फेसबुकले ट्र्याक गर्ने गरेको तथ्य बाहिर आएको थियो ।

आफ्नो व्यक्तिगत डाटा चोरी हुनबाट बच्नका लागि फेसबुक प्रयोगकर्ताले सेटिङ तथा प्राइभेसी सम्बन्धि सेटिङमा गएर सम्बन्धित स्थानमा ‘अन्ली मि’ वा ‘फ्रेन्डस’ राख्नुहोस् । त्यसबाहेक सेटिङमै गएर ‘डु यू वान्ट टु सर्च इन्जिन आउटसाइड अफ फेसबुक टु लिङ्क योर प्रोफाइल’ लेखिएको स्थानमा ‘नो’ राख्नुहोस् ।
तपाई फेसबुक प्रयोगकर्ता हुनुहुन्छ र आफ्ना तथ्याङ्क चोरी भएको आशंका गर्नु भएको छ भने थप अपडेटका लागि नियमित रुपमा टेकपाना भिजिट गर्दैगर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१