काठमाडौं । नेपाल प्रहरीले २१८ प्राविधिकका लागि भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानव एवम् प्रशासन विभाग अन्तर्गतको भर्ना छनौट महाशाखाले शुक्रबार प्राविधिक समूहका लागि जागिर खुलाएको हो ।
नेपाल प्रहरीका अनुसार सञ्चार निर्देशनालयमा इन्जिनियरिङ उपसमूह अन्तर्गत ५ जना प्राविधिक प्रहरी निरीक्षक, १० जना प्राविधिक प्रहरी नायब निरीक्षक र २० जना प्राविधिक प्रहरी सहायक निरीक्षक भर्ना गरिनेछ । त्यस्तै इन्जिनियरिङ उपसमूह तर्फ नै सूचना प्रविधि निर्देशनालयमा ६४ जना प्राविधिकका लागि जागिर खुलेको छ ।
जसमा सूचना प्रविधि तथा कम्प्युटरमा योग्यता पुगेका मध्येबाट तीन जना प्राविधिक प्रहरी निरीक्षक, ३२ जना प्राविधिक प्रहरी नायब निरीक्षक र २९ जना प्राविधिक प्रहरी सहायक निरीक्षक मागिएको छ ।
यसैगरी भौतिक पूर्वाधार निर्देशनालय तर्फ प्राविधिक प्रहरी नायब निरीक्षकको रुपमा एक जना इलेक्ट्रिकल ओभरसियर, एक जना प्राविधिक प्रहरी नायव निरीक्षक (आर्किटेक्चर) र चार जना प्राविधिक प्रहरी नायब निरीक्षक (सिभिल ओभरसियर) भर्ना हुनेछन् ।
यस बाहेक स्वास्थ्य उपसमूहमा ९७ जना, केनाइन उपसमूहमा एक जना, हातहतियारमा एक जना, विधि विज्ञानमा १७ जना प्राविधिकका लागि समेत दरखास्त आह्वान गरिएको छ ।