close

साना साइजका टिभीमा किन हुँदैन फोरके रेजोलुसन ?

टेकपाना टेकपाना

असोज ३, २०७८ २१:४३

साना साइजका टिभीमा किन हुँदैन फोरके रेजोलुसन ?

काठमाडौं । सामान्यतया टेलिभिजन किन्ने विषयमा हामीले ध्यान दिने भनेको स्क्रिन साइज र रेजोलुसनका कुरा हुन् ।  समय र प्रविधिको विकाससँगै टेलिभिजनबाट प्रसारण हुने सामग्रीलाई अझ बढी प्रभावकारी र स्तरीय देखाउन समयसँगै विविध प्रयोग भएको पाइन्छ ।

उपभोक्ताको सहजता र चाहनालाई ध्यानमा राख्दै विभिन्न समयमा टेलिभिजन उत्पादन कम्पनीहरूले टेलिभिजनको क्वालिटी बढाइरहेका छन् ।  कुनै समय एसडीबाट एचडी, फुल एचडी हुँदै अहिले अल्ट्रा एचडीकाे कुरा चलिरहेको छ ।

यस्ताे अवस्थामा टेलिभिजन स्क्रिनमा फोरके रेजोलुसन धेरैका लागि चासोको विषय बन्न पुगेकाे छ ।

तर के तपाईंले याद गर्नुभएको छ ! फोरके स्क्रिन रेजोलुसन साना साइजका टेलिभिजनमा भने उपलब्ध हुँदैन । जबकि सबै किसिम र साइजका कम्प्युटर स्क्रिनमा फोरके रेजोलुसन सहजै उपलब्ध छ ।

कम्प्युटरका स्क्रिनमा हुने, टिभीको स्क्रिनमा नहुने किन त ?  त्यसो त, स्क्रिन रेजोलुसन अनुसार टेलिभिजनको मूल्यमा तलमाथि पर्छ । फुल एचडी रेजोलुसनको तुलनामा फोरके झण्डै चारगुणा महँगो पर्न जान्छ ।

यदि तपाईं सानो स्क्रिनको नजिकै बसेर हेर्नुहुन्छ भने त फोरके ठीकै लाग्न सक्छ । तर ग्रुपमा बसेर हेर्दै हुनुहुन्छ भने फोरके रेजोलुसन ४० इन्चभन्दा कमको स्क्रिनमा अनावश्यक लाग्न सक्छ ।

फोरके रेजोलुसनमा टेलिभिजन हेर्दा उक्त टेलिभिजन स्क्रिनको एकदेखि डेढ गुणा बढी दूरीमा बसेर हेर्नु उपयुक्त हुन्छ ।

यसरी हेर्दा तपाईंका आँखाले छुट्टाछुट्टै पिक्सेलहरु अलग गर्न सक्दैन । फलस्वरुप टेलिभिजनमा देखिएका इमेज वास्तविक जीवनमा जस्तै देखिन्छ । अन्यथा फोरके रेजोलुसनको मजा लिन सकिँदैन ।

फुल एचडी र फोरकेमा फरक

फुल एचडीमा रेजाेलुसन 1920×1080 हुन्छ । जब यसको उचाई र चौडाई दुवैमा पिक्सेललाई दुई गुणा बढाइन्छ तब यसमा फोरके पाइन्छ । एउटा फुल एचडीको चार गुणा पिक्सेलमा फोरके रेजाेलुसन पाउन सकिन्छ । टु केको कुरा गर्दा त्यसमा 1280×720 पिक्सेल हुन्छ ।

फोरकेको स्क्रिन रेजाेलुसनकाे कुरा गर्दा यसमा कुल ८ मेगापिक्सेल हुन्छ । किनभने यसको चौडाई करिब ४ हजार र उचाई करिब दुई हजार पिक्सेलको छ । जब तपाईं यी दुवैलाई गुणा गर्नुहुन्छ, तब तपाईंले यसमा करिब ८० लाख पिक्सेल पाउनुहुन्छ ।

अब फूल एचडीको कुरा गर्दा त्यसमा करिब २० लाख पिक्सेल हुन्छ । यसको गुणस्तरीयता फुल एचडीभन्दा चार गुणा राम्रो हुन्छ । 

फोर के कन्टेन्ट 

तपाईंसँग फोरके टेलिभिजन छ, तर तपाईसँग फोरके कन्टेन्ट छैन भने त्यसलाई हेर्न मज्जा आउँदैन । यसका लागि तपाईंले आफ्नो मोबाइलबाट फोरके भिडिओ रेकर्ड गर्न सक्नुहुन्छ, युट्युब वा इन्टरनेटबाट फोरके भिडिओ सामग्री डाउनलोड गरेर टिभीमा हेर्न सक्नुहुन्छ ।

फोरके भिडिओ रेकर्ड गर्न तपाईंसँग कम्तिमा १२ मेगापिक्सेलको क्यामेरा हुनुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१