close

अन्य एप चलाइरहँदा युट्युब पनि चलोस् भन्ने लाग्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख २६, २०८३ ९:३६

अन्य एप चलाइरहँदा युट्युब पनि चलोस् भन्ने लाग्छ ? यसो गर्नुहोस्

काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले हालै मात्र ‘पिक्चर-इन-पिक्चर’ मोड सबैका लागि खुला गरेको छ । यसको अर्थ अब तपाईंले फोनमा अन्य एप चलाइरहँदा पनि मोबाइल स्क्रिनको एउटा सानो भागमा युट्युब भिडिओ हेर्न सक्नुहुनेछ । अर्थात्, अब युट्युब हेर्दै च्याट गर्ने, ईमेल पढ्ने वा अन्य काम गर्ने (मल्टिटास्किङ) सुविधा सहज भएको छ ।

पहिले यो सुविधा युट्युबका प्रिमियम प्रयोगकर्ताका लागि मात्र सीमित थियो भने अहिले सबैका लागि निःशुल्क छ । आज हामी एन्ड्रोइड र आईओएस डिभाइसमा यो फिचर कसरी एक्टिभ गर्ने भन्नेबारे जानकारी दिँदैछौँ ।

एन्ड्रोइड र आईफोन दुवैका लागि

  • सबैभन्दा पहिले आफ्नो फोनमा युट्युब एप खोल्नुहोस् ।

  • अनि तलपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि माथि दायाँपट्टि रहेको सेटिङ्सको आइकनमा ट्याप गर्नुहोस् ।

 

  • यति गरेपछि सेटिङ्सका विभिन्न सेक्सन देखिन्छन् । त्यहाँ रहेको ‘प्लेब्याक’ (Playback) अप्सनमा जानुहोस् । अनि टोगल अन गर्नुहोस् ।

  • यति गरेपछि तपाईंको युट्युब अकाउन्टमा पिक्चर-इन-पिक्चर मोड एक्टिभ हुन्छ । 

अब तपाईंले युट्युब चलाइरहँदा सोझै फोनको होमस्क्रिनमा आउनु भयो भने एउटा कुनामा युट्युब भिडिओ ‘प्ले’ हुन थाल्छ । तपाईंले ख्याल गर्नुपर्ने कुरा के हो भने यो फिचर राम्रोसँग काम गर्नको लागि पछिल्लो भर्सन अपडेट भएको हुनुपर्छ । त्यसका लागि गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा गएर आफ्नो युट्युब एपलाई अपडेट गर्नुहोस् । 

युट्युबलाई पिक्चर-इन-पिक्चर मोडका लागि अनुमति दिएको छैन भने त्यस्तो बेला नचल्न सक्छ । त्यसका लागि फोनको सेटिङ्समा जानुहोस् । र, एपको सेक्सन छान्नुहोस् । अनि युट्युबको अप्सनमा जानुहोस् । त्यसपछि स्क्रोल गर्दै तल गएपछि ‘Picture-in-picture’ को अप्सन देखिन्छ । त्यसलाई ‘allowed’ गर्नुहोस् । यति गरेपछि तपाईंले निःशुल्क युट्यब भिडिओ हेर्दै फोनमा अन्य एप प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ १०:७