close

फाइल स्टोरेज र ट्रान्सफर गर्न उपयोगी ५ एप

टेकपाना टेकपाना

असोज ११, २०७८ ११:५७

फाइल स्टोरेज र ट्रान्सफर गर्न उपयोगी ५ एप

काठमाडौं । क्लाउडको अभ्यास सुरु हुनुअघि अन्य एपबाट फाइल ट्रान्सफर गर्ने, डिस्कमा फाइल कपी गर्ने अथवा ईमेलबाट पठाउने गरिन्थ्यो । अहिले पनि धेरै मानिस फाइल ट्रान्सफरका लागि ईमेल प्रयोग गरिरहेका हुन्छन् ।

तर ईमेलमा फाइलको साइज सीमित हुन्छ । यसले गर्दा फाइल शेयरिङमा समस्या हुनु स्वभाविकै हाे । आजका प्रयोगकर्ता असीमित विकल्पको खोजीमा छन् । उनीहरू आफ्नो फाइल शेयर गर्न सहज र छिटो विकल्प चाहन्छन् ।

यही समस्यालाई सम्बोधन गर्दै ठूला कम्पनीहरू जस्तै ड्रपबक्स, गुगल, बक्स, माइक्रोसफ्ट, एप्पल लगायत साना कम्पनीहरू मिडिया फायर र ट्रेसोरिट लगायतले क्लाउड स्टोरेज सेवा दिइरहेका छन् ।

यस्तो सेवामा ठूलाठूला साइजका फाइल शेयर गर्ने मात्र होइन, ठूलो सङ्ख्यामा शेयर पनि गर्न सकिन्छ । 

१. बक्स (Box)

फाइल स्टोरेज र शेयरिङका लागि एउटा उपयोगी प्लेटफर्म हो, ‘बक्स’ । गुगल वर्कस्पेस, माइक्रोसफ्ट ३६५/अफिस ३६५ लगायत अन्य व्यवस्थापनसँग मिलेर बक्सले प्रयोगकर्तालाई स्टोरेज र शेयरिङको सेवा दिँदै आएको छ ।

यसअन्तर्गत व्यक्तिगत अकाउन्ट भएका प्रयोगकर्ताले १० जीबीसम्मको निःशुल्क स्टोरेज प्रयोग गर्न पाउँछन्, जसमा १५० एमबीसम्मको फाइल अपलोड गर्न सकिन्छ । त्यसैगरी सशुल्क स्टोरेजमा भने विभिन्न अफरहरू रहेका छन् । 

file sharing apps box

‘पर्सनल प्रो’ प्याकेजअन्तर्गत १०० जीबी स्टोरेज प्रतिमहिना १० डलर, बिजनेस स्टार्टर १०० जीबीको एक जना प्रयोगकर्ता बराबर प्रति महिना ५ डलर, बिजनेस अनलिमिटेड स्टोरेज एकजना प्रयोगकर्ता बराबर प्रति महिना १५ डलर बिजनेस प्लस अनलिमिटेड स्टोरेज प्रति प्रयोगकर्ता बराबर २५ डलर, इन्टरप्राइज अनलिमिटेड स्टोरेज प्रति प्रयोगकर्ता बराबर प्रति महिना ३५ डलर पर्दछ ।

बिजनेस प्लानिङ अन्तर्गतको स्टोरेज खरिद गरेर प्रयोग गर्नको लागि भने कम्तीमा पनि तीनजना वा सोभन्दा माथि प्रयोगकर्ताहरू हुनुपर्नेछ । यसमा डेटा लस प्रोटेक्सन, टु-फ्याक्टर अथेन्टिकेसन लगायत अन्य सुरक्षित फिचरहरू उपलब्ध छन् । 

सिट्रक्स शेयर फाइल (Citrix ShareFile)

बिजनेसका लागि फाइल स्टोरेज र शेयरिङको लागि राम्रो मानिने शेयरिङ साइटहरू मध्ये एउटा हो सिट्रक्स शेयर फाइल । यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फाइल क्लाइन्ट, पार्टनर, सहकर्मी लगायत अन्यसँग सहजै फाइल शेयर गर्न सक्छन् ।

आफ्नो बिजनेस फाइलहरू फरक-फरक व्यक्ति अथवा संस्थासँग गोप्य रुपमा आफ्नो आवश्यकता अनुसार शेयर गर्न सकिन्छ ।

यसमा बिजनेस प्रयोगकर्ताका लागि विशेष टुलसहित डकुमेन्ट कोलाब्रेसन गर्ने फिचर, विद्युतीय हस्ताक्षरको व्यवस्थापन लगायतका फिचरहरू उपलब्ध छन् ।

file sharing apps citrix sharefile

आउटलुक र जीमेल सँगको सहकार्यमा सिट्रक्स शेयर फाइलले सेवा दिँदै आएको छ । यो एप सबै प्रकारका एन्ड्रोइड, आईओएस, म्याकओएस र विण्डाेजमा उपलब्ध छ । 

सुरक्षित फाइल शेयरिङका लागि प्रयोग हुने भएपनि यसमा कुनै निःशुल्क सर्भिस भने छैन । ३० दिनका लागि प्रिमियम निःशुल्क भर्सन प्रयोग गर्न सकिने भएपनि पहिले क्रेडिट कार्ड नम्बर भने राख्नुपर्ने हुन्छ ।

पाँच जनासम्म प्रयोगकर्ताले प्रयोग गर्न मिल्ने गरी यसमा भर्चुअल डेटा रुमको पनि व्यवस्था गरिएको छ, जसले तपाईंको डेटालाई थप सुरक्षित बनाउँछ ।

यसमा ५० डलर प्रतिमहिनाको स्ट्यान्डर्ड अनलिमिटेड स्टोरेज, ७७ डलर प्रतिमहिनाको एड्भान्स अनलिमिटेड स्टोरेज, १२२ डलर प्रतिमहिनाको प्रिमियम अनलिमिटेड स्टोरेज र ५ जीबी भर्चुअल डेटा रुमको ३३८ डलर प्रतिमहिनाका प्याकेजहरू उपलब्ध छन् । 

ड्रपबक्स (Dropbox)

बिजनेस मार्केटमा फाइल शेयरिङको लागि सुरक्षित इकोसिस्टम सहितको सेवा दिने कम्पनी मध्ये एक हो ड्रपबक्स । हाल केही बर्षहरूमा ड्रपबक्सले माइक्रोसफ्ट अफिस अन्तर्गतको फाइलहरूमा डकुमेन्ट क्रियट गरेर त्यहीबाट शेयर गर्न मिल्ने फिचर सुरु गरेको छ ।

यसमा भने व्यक्तिगत अकाउन्टको लागि २ जीबीसम्मको स्टोरेज नि:शुल्कमा प्रयोग गर्न सकिन्छ भने बिजनेस प्लानका लागि ३० दिनसम्म निःशुल्क सेवा प्रयोग गर्न सकिन्छ ।

file sharing apps dropbox

यसमा व्यक्तिगत प्लान अन्तर्गत ‘प्लस’ प्लानमा प्रति प्रयोगकर्ता १० डलरमा २ टीबी स्टोरेज, फ्यामिली प्लान (६ जना सम्मका लागि) मा प्रतिमहिना १७ डलरको २ टीबी स्टोरेज उपलब्ध छन् ।

त्यस्तै वर्क प्लान अन्तर्गत व्यक्तिगततर्फ १६.६० डलरमा प्रति प्रयोगकर्ता, प्रति महिना तीन टीबी स्टोरेज, स्ट्यान्डर्ड (तीन जना भन्दा माथि) अन्तर्गत प्रति प्रयोगकर्ता प्रति महिना १२.५० डलरको ५ टीबी स्टोरेज उपलब्ध छन् ।

एड्भान्सतर्फ भने तीन जनाभन्दा माथि प्रयोगकर्ता भएको अकाउन्टको २० डलरमा प्रति प्रयोगकर्ता प्रतिमहिना अनलिमिटेड स्टोरेज उपलब्ध छन् । 

गुगल ड्राइभ (Google Drive)

धेरैजसो सामान्य प्रयोगकर्ताहरूको लागि परिचित भइरहेको नाम हो ‘गुगल ड्राइभ’ । सामान्य प्रयोगकर्तादेखि व्यवसायिक प्रयोगकर्तासम्मले फाइल स्टोरेज र शेयरिङको लागि प्रयोग गर्ने एप हो, ‘गुगल ड्राइभ’ ।

file sharing apps google drive

गत वर्षसम्म निःशुल्क अनलिमिटेड स्टोरेज दिइरहेको ड्राइभले यही वर्षदेखि १५ जीबीसम्मको स्टोरेजमात्र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।

स्टोरेज खरिद गर्ने अप्सनमा १०० जीबीका लागि प्रतिमहिना २ डलर, २०० जीबीका लागि प्रतिमहिना ३ डलर, २ टीबी स्टोरेजका लागि १० डलर, ५ टीबी स्टोरेजको २० डलर, १० टीबीका लागि ५० डलर शुल्क र २० टीबीका लागि १०० डलर तिर्नुपर्ने हुन्छ । 

आईक्लाउड ड्राइभ (iCloud Drive)

एप्पल डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताहरूको लागि ५ जीबीसम्मको स्टोरेज निःशुल्क आईक्लाउड ड्राइभमा उपलब्ध छ । एप्पल आईडी बनाएर आईक्लाउड प्रयोगकर्ताबिच फाइल स्टोरेज लगायत फाइल शेयरिङ गर्न यो ड्राइभ प्रयोग गर्न सकिन्छ ।

file sharing apps icloud drive

विण्डाेजमा समेत आईक्लाउड प्रयोग गर्न सकिने भएपनि एप्पल प्रयोगकर्ताका लागि नै यो बढी उपयोगी हुन्छ । यसमा ५ जीबीसम्म मात्र स्टोरेज नि:शुल्क उपलब्ध हुने भएकोले धेरै जसो प्रयोगकर्ताले थप स्टोरेज किन्ने गर्छन् ।

यसमा २०० जीबीको स्टोरेज प्रतिमहिना ३ डलरमा उपलब्ध छ । त्यस्तै ५० जीबीको प्रतिमहिना १ डलर र र २ टीबी स्टोरेज प्रतिमहिना १० डलरमा उपलब्ध छ ।

कम्प्युटर वर्ल्डबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१