काठमाडौं । अमेजनले बजारमा भर्खरै नयाँ रोबोट सार्वजनिक गरेको छ । मान्छेले जस्तै सुन्न र हेर्नसक्ने यो रोबोटले घरको काम गर्न सघाउने कम्पनीको दाबी रहेको छ ।
यसको अर्थ ‘एस्ट्रो’ नाम दिइएको यो रोबोटले खाना पकाइदिने वा घर सफा गरिदिने भने होइन । तर यसले तपाईंलाई विभिन्न कामका लागि सूचना दिने वा सचेत गराउँछ ।
उदाहरणका लागि यदि घरमा कोही नभएको बेला रोबोटले नचिन्ने मान्छे घरमा आयो भने उसले तपाईंलाई सूचना दिन्छ ।
त्यस्तै यो रोबोटको ढाडमा केही हल्का सामानहरू जस्तै खानेकुराको प्याकेट र पानी लगायत अन्य बोतलहरू राखेर एक ठाउँदेखि अर्को ठाउँमा सार्न वा पुर्याउन पनि सकिन्छ ।
एक हजार अमेरिकी डलर पर्ने यो रोबोट छिट्टै नै बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो रोबोट अमेजनको बहुप्रतिक्षित उत्पादनमध्येको एक हो । १७ इन्चको यो रोबोटले तपाईंले दिनुभएको सम्पूर्ण कमान्ड मान्ने कम्पनीको दाबी छ । यदि तपाईं गीत सुन्न चाहनुहुन्छ भने यसले तपाईंको लागि गीत पनि बजाउँछ ।
कम्पनीका अनुसार एस्ट्रोको उत्पादन सीमित भएकोले बजारमा यसको उपलब्धता भने सहज हुने छैन ।