close

भनेजति इन्टरनेट स्पिड नपाएको भन्दै प्राधिकरणमा उपभोक्ताको गुनासो

टेकपाना टेकपाना

असोज २६, २०७८ १६:५५

भनेजति इन्टरनेट स्पिड नपाएको भन्दै प्राधिकरणमा उपभोक्ताको गुनासो

काठमाडौं । इन्टरनेट सेवाप्रदायकको सेवाप्रति गुनासो गर्नेमध्ये सबैभन्दा धेरैले इन्टरनेट स्पिडमा गुनासो गर्ने गरेको एक तथ्यांकले देखाएको छ । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार धेरै उपभोक्ताले इन्टरनेटको स्पिडप्रति गुनासो गर्ने गरेका छन् ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा दुई सय १९ उपभाेक्ताले इन्टरनेट सेवाको विविध विषयमा गुनासो गरेका थिए । जसमध्ये एक सय ३३ उपभोक्ता अर्थात करिब ४३ प्रतिशतले इन्टरनेट स्पिड घटबढ भरहने वा सुस्त हुने र प्याकेजमा भनेको जत्ति व्याण्डविथ नपाएको भनेर गुनासो गरेका थिए ।

त्यस्तै इन्टरनेट नचलेकाे भन्दै ३४ वटा गुनासो प्राप्त भएकाे छ । यस्तै, याे अवधिमा मर्मत सम्भार भनेको समयमा नभएको भन्दै नाै जना उपभोक्ताले प्राधिकरणसमक्ष गुनासो दर्ता गराएका छन् ।

यस्तै, आठ जना उपभोक्ताले इन्टरनेट सेवाप्रदायकको बिलिङको विषयमा गुनासो जाहेर गरेका थिए । अर्काेतर्फ सेवाप्रदायकले नियमानुसार टोल फ्री अर्थात् निःशुल्क फोन गर्न मिल्ने नम्बर नराखेको भन्दै नौ जना उपभोक्ताले गुनासो गरेको प्राधिकरणले जनाएको छ ।

तीन जना उपभोक्ताले भने सेवाप्रदायकसँग क्षतिपूर्ति माग गर्दै प्राधिकरणसमक्ष गुनासो दर्ता गराएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१