close

मध्यम र लामो दूरीका सार्वजनिक यातायातमा अनलाइन भुक्तानी सुरू हुँदै

टेकपाना टेकपाना

कात्तिक १५, २०७८ १२:२६

मध्यम र लामो दूरीका सार्वजनिक यातायातमा अनलाइन भुक्तानी सुरू हुँदै

काठमाडौं । सार्वजनिक सवारी साधनमा विद्युतीय भुक्तानी लागू गर्न बागमती प्रदेशले तयारी थालेको छ ।

मध्यम तथा लामो दूरीका सवारीसाधनमा विद्युतीय भुक्तानी लागू गर्न प्रदेश सरकारले नियमावली बनाएर कार्यन्वयन गर्ने तयारी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले बताए ।

सार्वजनिक सवारी साधनमा विद्युतीय भुक्तानी लागू गर्न प्रदेश सरकारले प्रदेश राजपत्रमा भदौ १० गते सूचना जारी गर्दै सोसम्बन्धी नियमावली सार्वजनिक गरेको थियो ।

नियमावली अनुसार सार्वजनिक यातायात सेवाप्रदायकले आफ्नै आधिकारिक वेबसाइट वा आधिकारिक भुक्तानी सेवाप्रदायकको मोबाइल एप वा वेब पोर्टल बनाएर टिकट बिक्री गर्नुपर्नेछ ।

यस्तो टिकट यात्राको दिनभन्दा सात दिनअगाडि नै अनलाइनमा खुलाउनु पर्नेछ ।

त्यस्तै यातायात सेवा सञ्चालकले तोकिएको रुटमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको कुल सिट संख्या, बिक्री भएको र बाँकी टिकट संख्या तथा भाडादरसमेत साइट वा एपमा देख्न मिल्ने र यात्रुले आफ्नो सिट छान्न मिल्ने व्यवस्था लागू गर्नपर्नेछ ।

अनलाइन टिकेटिङ व्यवस्थामा एकरुपता ल्याउन मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको पोखरेलले बताए ।

‘अनलाइन टिकेटिङ व्यवस्थामा एकरुपता ल्याउन हाम्रो आन्तरिक गृहकार्य सकिएपछि सेवाग्राहीसँग पनि छलफल अगाडि बढाउनेछौं । मन्त्रालयले चरणबद्ध रुपमा स्थान, रुट तथा क्षेत्र विशेषको आधारमा विद्युतीय भक्तानी प्रणाली क्रमशः लागू गर्दै जानेछ,’ उनले भने ।

आवश्यक गृहकार्य सकेपछि सूचना जारी गरेर भुक्तानी प्रणालीको व्यवस्थापनको लागि सेवाप्रदायक छनौट गरिने उनले बताए । अनलाइन भुक्तानी कार्ड, क्यूआर कोड, डिजिटल वालेट लगायतबाट गर्न सकिने व्यवस्था हुने नियमावलीमा उल्लेख छ ।

यो प्रणाली लागू भएसँगै सबै सार्वजनिक सवारी साधान (ट्याक्सी सहित) अनिवार्य रुपमा यो प्रणालीमा आबद्ध हुनुपर्नेछ ।

हुन त सार्वजनिक सवारी साधानमा विद्युतीय भुक्तानी लागू गर्न सरकारले यसअगाडि पनि केही प्रयास गरेको थियो । यद्यपि पूर्णरुपमा कार्यन्वयन हुन भने अझै पनि समस्या नै रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१