close

विकट ठाउँमा टेलिकमको फोरजी सेवा

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ ९:५०

विकट ठाउँमा टेलिकमको फोरजी सेवा

बागलुङ । बागलुङ, रोल्पा र रुकुम तीन जिल्लाको संगमस्थल हो, तिलाचन धुरी । मध्यपहाडी लोकमार्ग विस्तार र स्तरोन्नति भएपछि उक्त धुरी पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।

कुनै दिन चराचुरुङ्गी, जंगली जनावर र गोठालाहरूको मात्र चहलपहल हुने तिलाचान धुरीमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि तीन जिल्लाको दृश्य अवलोकन गर्न रुचि राख्ने आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् ।

पर्यटकको चाप बढ्दै गएपछि नेपाल टेलिकम बागलुङले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी बीटीएस टावर स्थापना गरी टेलिकम सेवा विस्तार गरेको हो ।

समुद्री सतहदेखि तीन हजार चार सय मिटर उचाइमा अवस्थित तिलाचन धुरी ‘पातीहाल्ने’ नामले परिचित छ । मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नतिसँगै अहिले त्यहाँ गाडी र मानिसको भीडभाड बढ्न थालेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई लक्षित गरी नेपाल टेलिकमले पहिलो पटक मोबाइल सेवा सञ्चालनमा ल्याएको हो बागलुङको निसीखोला गाउँपालिका–६ स्थित तिलाचन धुरी (पातीहाल्ने)मा टेलिकमले स्थायी संरचना निर्माण गरी मोबाइल सेवा टुजी र फोरजी एकसाथ सुरू गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले ग्रामीण र दुरदराजका बस्तीसँगै लोकमार्ग आसपासका क्षेत्रमा आफ्नो सेवालाई निरन्तर विस्तार र स्तरोन्नति गर्ने योजना अनुरूप २५ मिटर अग्लो बीटीएस टावर निर्माण गरेको हो । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१