काठमाडौं । पछिल्लो समयमा टेस्ला कारको माग र बजार मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । बजारमा टेस्लाको माग बढ्नुको अर्थ हो बजारमा विस्तारै विद्युतीय सवारी साधनप्रति उपभोक्ताको सोच बदलिनु ।
विद्युतीय गाडी सहज, सफा र शान्त हुने हुँदा पनि यसको माग बढ्दै गइरहेको छ । त्यसमाथि विद्युतीय गाडीको लागत पनि डिजेल र पेट्रोलबाट चल्ने गाडीको जत्तिकै हुन जाँदा भविष्यमा कुन गाडीको सम्भावना छ भन्ने प्रष्टै थाहा हुन्छ ।
चार वर्ष अघि स्ट्यान्डफोर्ड विश्वविद्यालयका भविष्यवेत्ता टोनी सेबाले एउटा भविष्यवाणी गरेका थिए । जसमा उनले भनेका थिए कि सन् २०३० सम्ममा कम्तिमा पनि सहरी क्षेत्रमा विद्युतीय गाडीको प्रयोग बढेर जाने छ र त्यसबेला मान्छेहरूले आफ्नो गाडी नराखी शेयर गरेर गाडी प्रयोग गर्ने गतिविधि बढ्नेछ ।
साथै मान्छेहरूले यति धेरै किलोमिटर यात्रा गर्नेछन् कि त्यो सवारीको लागत नगन्य हुनेछ । भविष्यमा सवारी साधन सेवाको रुपमा अगाडि बढ्ने आँकलन पनि उनले गरेका थिए । चार वर्ष अघि उनको यो अनुमानलाई विवादको विषय बनाइएको थियो ।
तर आज त्यही अनुमान वास्तविकतामा परिणत हुँदै गइरहेको छ । त्यस्तै मोर्गन स्ट्यान्लीका विश्लेषक आदम जोनसले गत हप्ता लेखेको नोटले धेरै जसो सेबाको कुरालाई प्रतिबिम्बित गर्छ ।
उनको त्यो समयको भविष्यवाणी आज विस्तारै वास्तविकता हुँदै गएको छ । किनभने टेस्लाले त्यही बाटोमा हिड्न सुरु गरेको छ, जुन बाटोको बारेमा सेबाले चार वर्ष अघि नै भविष्यवाणी गरेका थिए ।
औसतमा हेर्ने हो भने एउटा कार दैनिक एक घण्टा भन्दा कम समयको लागि प्रयोग भइरहेको हुन्छ । जुन कुल उपयोग हुन सक्ने क्षमताको केवल चार प्रतिशत मात्रै हो । प्रयोगको दरको आधारमा एउटा कारले वार्षिक १६,००० किलोमिटर यात्रा गर्छ ।
यस आधारमा हेर्ने हो भने विद्युतीय गाडीले करिब साढे सात वर्षभित्र लगानी फिर्ता गर्न सक्छ । वर्षमा ८०,००० किलोमिटर सम्म गुड्ने विद्युतीय गाडीको उपयोगिता २० प्रतिशत हुन्छ (उदाहरणका लागि ‘फ्लिट’ सवारी, यो यस्ता सवारीको समूह हो, जुन व्यक्ति वा परिवारको नभएर सरकार तथा व्यवसायिक समूहको स्वामित्वमा रहेको हुन्छ । यसको ठेट उदाहरणको ट्याक्सी क्याब कम्पनी, सार्वजनिक यातायात कम्पनी आदिलाई लिन सकिन्छ ।)
जसले करिब डेढ वर्षमै लगानी फिर्ता (पे ब्याक) गर्नसक्ने जोनसले बताएका छन् । किनभने यस्ता गाडीले पेट्रोलियम इन्धनबाट चल्ने कारको तुलनामा गाडीको उपयोग २० प्रतिशतसम्म हुने गर्छ ।
त्यसैगरी स्वचालित गाडी, जसले गाडीको कूल उपयोग हुने क्षमताको ४० प्रतिशतसम्म प्रयोग गरेर वार्षिक एक लाख ६० हजार किलोमिटर गुड्न सक्छ । यस्तोमा लगानी फिर्ता हुने अवधिलाई छ महिनामा सीमित गर्न सक्ने जोनसले आफ्नो नोटमा उल्लेख गरेका छन् ।
हुन त जोनसले आफ्नो गणनामा अमेरिकामा हाल रहेको पेट्रोल र विद्युतको मूल्यलाई आधार बनाएका छन् । यद्यपि अष्ट्रेलिया लगायत अन्य देशमा पनि पेट्रोल र विद्युतको मूल्य अन्तरको अनुपात लगभग उस्तै छ ।
जोनसले आफ्नो लेखमा दुई विद्युतिय गाडीको व्यावसायिक मोडेल पनि उल्लेख गरेका छन् । ‘मोबाइल प्रविधि र सफ्टवयेरहरूको सहज प्रयोगले सवारीको ड्राइभिङ उपयोग बढेर जानेछ जसले ट्याक्सी र ड्राइभिङ सर्भिसलाई धेरै मान्छेहरूको बीचमा पुर्याउन मद्दत गर्नेछ,’ उनले भनेका छन् ।
यसले अटोको व्यवसायिक मोडेललाई ‘बिजनेस टु कन्जुमर’ (बीटुसी) स्वामित्वलाई बिजनेस टु बिजनेस (बीटुबी) शेयर्ड मोडेलमा रुपान्तरण गर्नेछ । यसरी हरेक कारलाई वार्षिक रुपमा धेरैभन्दा धेरै लामो दूरी गुड्न सम्भव बनाउँदा त्यसले ब्याट्रीको लागतलाई तीव्र रुपमा घटाइदिनेछ र लगानी फिर्ता हुनलाग्ने समय पनि खुम्चिदै जानेछ ।
ठूलो संख्यामा विद्युतिय गाडीको उत्पादन र प्रयोगले गर्दा कार निर्माता कम्पनीहरूले ब्याट्री प्याकको उत्पादन पनि बढाउनेछन् । जसले अर्थतन्त्रमा पनि सहयोग पुर्याउने अनुमान जोनसले गरेका छन् ।
दोस्रो महत्त्वपूर्ण परिवर्तन भनेको परिस्कृत स्वचालित ड्राइभिङ हो । सेबाले उल्लेख गरेअनुसार ड्राइभिङको कामबाट ड्राइभरहरूलाई कम गर्दै जाँदा सवारीको उपयोग दर बढ्दै जान्छ र त्यसैअनुरूप प्रति किलोमिटर लागत घट्दै जान्छ ।
यही कुरालाई उदृत गर्दै जोनस लेख्छन्, ‘आजको समयमा अभ्यास भइरहेको राइड शेयरिङ सेवामा लाग्ने सबैभन्दा धेरै लगानी ड्राइभरकै लागि हो । विस्तारै ड्राइभरलाई कोडिङका लाखौँ लाइन र सेन्सरहरूले प्रतिस्थापन गर्न सकियो भने वास्तवमै लागत निकै कम भएर बचत हुन सुरु हुन्छ ।’
कार पूर्ण स्वचालित हुनुको अर्थ निजी स्वामित्वमा रहने नभएर एकअर्कासँग शेयर अर्थात् साझा गरेर प्रयोग हुनेछ । जसले गर्दा कार २४ सैँ घण्टा गुड्नेछ ।
‘यसरी सबै काम आफैँ गर्न सक्ने गाडीलाई २४ घण्टामा २३ घण्टा यत्तिकै राख्नको लागि उपभोक्ताले किन किन्निराख्ने ? यस्तो प्रविधिलाई खुम्च्याएर चार प्रतिशत मात्र प्रयोग गर्नको लागि कसले किन्छ?,’ उनले आफ्नो लेखमा भनेका छन् ।
यही कुरालाई पछ्याउदै टेस्ला अगाडि बढिरहेको छ । जोनसका अनुसार टेस्लाको दीर्घकालिन लक्ष्य भनेको नै उबर जस्तो राइड शेयरिङ एप सञ्चालन गर्नु हो । त्यस्तै टेस्लाले भविष्यमा विद्युतीय सवारीको विस्तारका लागि आफ्नो आर्थिक रणनीति अन्तर्गत रहेर हाल प्रिमियम पर्फर्मेन्स कारको बजारलाई लक्षित गरी काम गरिरहेको उनले बताए ।
‘आजका टेस्लाका ग्राहकहरूले ड्राइभर सहितको सेवालाई जति आनन्दित भएर अनुभव गरिरेका छन्, भोलि यिनै टेस्लाका ग्राहकले यस्तो सवारीको आन्नद लिने छन्, जुन हाम्रो अटोमोबाइलको विगत १०० वर्षदेखिको अनुभव भन्दा भिन्न हुनेछ,’ उनले थपेका छन्, ‘सवारी साधनको साझा प्रयोग, स्वचालित गाडी र विद्युतीय गाडी एकअर्कामा जोडीएका छन् ।’