काठमाडौं । प्रविधिको दिग्गज कम्पनी एप्पलले एउटा यस्तो पेटेन्ट दर्ता गरेको छ, जसअनुरूप प्रयोगकर्ताले विशेष किसिमको चस्माबाट आफ्नो आईफोनको स्क्रिनमा भएका कन्टेन्ट हेर्न पाउनेछन् ।
यदि साँच्चिकै यो फिचर आएको खन्डमा आईफोन प्रयोगकर्ताले आफ्नो मोबाइलमा जे जसुकै पढिरहेका वा हेरिरहेका छन्, त्यो चिज आसपासमा रहेका अन्य व्यक्तिले चियाउन सक्ने छैनन् ।
सार्वजनिक सवारीसाधन, कार्यालय, भिडभाड रहेका अन्य स्थानमा प्रायः प्रयोगकर्तालाई आफ्नो मोबाइल ढुक्कसँग चलाउन त्यति सहज महसुस हुँदैन ।
त्यस्तोमा यो फिचरले निकै राहत दिनेछ । यो जानकारी यसै साता अमेरिकाको पेटेन्ट एन्ड ट्रेडमार्क अफिसमा एप्पलले दर्ता गराएको पेटेन्टबाट थाहा भएको हो ।
एप्पलले आफ्ना प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राख्दै यो नयाँ फिचर ल्याउने तयारी गरिरहेको बुझिन्छ । यसले थुप्रै प्रयोगकर्तालाई आकर्षित गर्ने अनुमान गरिएको छ ।
एप्पलले दर्ता गरेको पेटेन्ट अनुसार यो फिचरलाई प्राइभेसी आइवेयर उल्लेख गरिएको छ ।
यो फिचरलाई एउटा यस्तो सिस्टमको रुपमा परिभाषित गरिएको छ कि जसले इलेक्ट्रोनिक उपकरणमा ‘भिजन करेक्ट ग्राफिकल आउटपुट’ तथा ‘स्यान्डर्ड ग्राफिकल आउटपुट’ देखाउन सक्छ ।
यस्तोमा जसले यस्तो विशेष किसिमको चस्मा लगाएको छ, त्यसले मात्र ‘पेयर्ड’ (दुई उपकरणलाई एक अर्कासँग जोड्ने काम) आईफोनको स्क्रिनमा भएका कन्टेन्ट देख्न पाउनेछ ।
‘प्राइभेसी आइवेयर’ का फिचर अहिलेसम्म प्रयोगमा आइसकेका छैनन् । तर पेटेन्ट अनुसार यो फिचरले प्रयोगकर्तालाई आईफोनको स्क्रिनमा देखिने ग्राफिकल आउटपुटलाई ब्लर गर्नका साथै त्यससँगै ‘इन्टरेक्ट'(अन्तरक्रिया) गर्ने अवसर दिनेछ ।
जसले गर्दा बाँकी यस्तो ग्लास नलगाएका अन्य व्यक्तिहरूले आईफोनमा भएको कन्टेन्ट ब्लर भएको देख्नेछन् । वास्तवमै यो फिचर प्रयोगमा आएको खन्डमा थुप्रै कुराहरू परिवर्तन भएको महसुस गर्न सकिनेछ ।
उदाहरणको लागि म्यासेज, नोटिफिकेसन आदि चेक गर्न असहज मान्नुपर्ने छैन । ग्लासकै सहयोगमा मोबाइलमा भिडिओ कन्टेन्ट हेर्न सकिनेछ ।