close

सवारी चालक अनुमतिपत्रका लागि तीन सातामै ४ लाखले दिए आवेदन

टेकपाना टेकपाना

कात्तिक २९, २०७८ १६:५७

सवारी चालक अनुमतिपत्रका लागि तीन सातामै ४ लाखले दिए आवेदन

काठमाडौं । लामो समयको बन्दपछि खुलेको चालक अनुमति पत्र (लाइसेन्स) लिन तीन सातामा झण्डै चार लाखले आवेदन दिएका छन् । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो ।

दुई वर्षयता नियमित रुपमा सेवा चालू नभएकाले पनि छोटो समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।

कात्तिकभन्दा पहिले झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमित रुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रुपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता भुसालले बताए ।

कात्तिक दोस्रो सातादेखि नै आवेदन खुलाइएको भए पनि बीचमा चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।

गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ ।

उनले भने, ‘अहिले अपडेट गरेपछि फाराम बुझाउन सकिएन भन्ने गुनासो छैन ।’

२०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा संक्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि संक्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमित रुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् । -रासस

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२