११ महिनामा चार पाङ्ग्रे ईभीको आयात घट्यो, दुई पाङ्ग्रेको संख्या २२ हजार नाघ्यो
असार ८, २०८३ २०:३६
काठमाडौं । गत आर्थिक वर्षकाे पहिलो ११ महिनाकाे तुलनामा चालु आर्थिक वर्षकाे ११ महिनामा चार पाङ्ग्रे विद्युतीय सवारी आयातमा कमी आएकाे छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेकाे तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा (साउन-जेठसम्म)१० हजार ८९२ युनिट मात्र चार पाङ्ग्रे ईभी भित्रिएका छन् ।
गत आवको सोही अवधिमा १३ हजार ४९२ युनिट आयात भएको थियो । यसअनुसार चार पाङ्ग्रे ईभीको आयातमा करिब दुई हजार ६०० युनिट अर्थात् १९ प्रतिशत कमी देखिएको छ । जसको कुल आयात मूल्य २५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ हाराहारी छ । चार पाङ्ग्रे ईभी आयातबाट सरकारले यो अवधिमा १५ अर्ब ५३ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
त्यसैगरी दुई पाङ्ग्रे ईभीको आयातमा भने उल्लेख्य वृद्धि भएको छ । गत आवको ११ महिनामा ११ हजार ६८९ युनिट आयात भएकोमा चालु आवमा यो संख्या बढेर २२ हजार २४० युनिट पुगेको छ । जसको कुल आयात मूल्य दुई अर्ब ३५ करोड १४ लाख भन्दा बढी रहेको छ । यसबाट सरकारले ८२ करोड २५ लाख बढी राजस्व संकलन गरेको छ ।
चालु आवको ११ महिनामा चार पाङ्ग्रे र दुई पाङ्ग्रे ईभीको आयातबाट मात्र सरकारले कुल १६ अर्ब ३५ करोड ९८ लाख रुपैयाँ भन्सार राजस्व संकलन गर्न सफल भएको छ ।
पछिल्लो अध्यावधिक: असार ८, २०८३ २०:४०
