काठमाडौं । देशका पाँच प्रदेशमा आजदेखि ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । यातायात व्यवस्था विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो प्रणाली अनिवार्य गरेको हो ।
यो व्यवस्था लागू भएसँगै अब दर्ता हुने हरेक सार्वजनिक सवारी, पर्यटक सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य हुनुपर्ने छ ।
त्यसैगरी नामसारी गरेको सवारीमा फागुन १ गतेदेखि ईम्बोस्ड नम्बर प्लेट लागू हुने विभागले जनाएको छ ।
सवारी दर्ता प्रमाणपत्र नवीकरणपछि भने २०७९ सालको जेठ १ गतेबाट मात्र यो नियम अनिवार्य हुनेछ ।
विभागले गत २०७४ साल भदौ ५ गतेदेखि ईम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारीसाधनमा तत्काल ईम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।