close

विण्डोज १० र ११ मा देखियो गम्भीर सुरक्षा कमजोरी, सचेत रहन माइक्रोसफ्टको आग्रह

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १७:१७

विण्डोज १० र ११ मा देखियो गम्भीर सुरक्षा कमजोरी, सचेत रहन माइक्रोसफ्टको आग्रह

काठमाडौं । विण्डाेज अपरेटिङ सिस्टममा नयाँ सुरक्षा कमजोरी देखिएकाे भन्दै माइक्राेसफ्टले प्रयाेगकर्तालाई सचेत गराएकाे छ । ‘विण्डोज युजर प्रोफाइल सर्भिस’ मा देखिएकाे जिरो डे बगको फाइदा उठाउँदै ह्याकरले प्रयोगकर्ताको कम्प्युटरमा पहुँच लिने गरेको पाइएको हो ।

CVE-2021-34484 का रूपमा ट्र्याक गरिएको यो बगबारे कम्पनीलाई पहिलेदेखि जानकारी थियो । यद्यपि राम्रोसँग ध्यान नदिँदा समस्या बल्झिएको हो ।

पहिलो पटक गत अगस्टमा नै देखिएको यो सुरक्षा कमजोरी पूर्णरुपमा समाधान भइसकेको ठान्नु नै माइक्रोसफ्टको गम्भीर त्रुटि भएको पाइएको छ ।

माइक्रोसफ्टले आफ्ना प्रयाेगकर्तालाई सुरक्षित राख्न उपयुक्त कदम चाल्ने प्रतिवद्धता जाहेर गरेको थियो । यद्यपि अघिल्लो कमजोरी समाधान भएको दुई हप्ता नबित्दै अर्को सुरक्षा कमजोरी देखिएको छ ।

विण्डोज १० र ११ सँगै पुराना अपरेटिङ सिस्टममा समेत देखिएकाे याे नयाँ सुरक्षा कमजोरीको भने कुनै उपाय पत्ता लागिसकेको छैन ।

यस्ता सुरक्षा कमजोरीबाट बच्न विण्डाेज प्रयोगकर्ताले थर्ड पार्टी सेक्युरिटी टिमले निर्माण गरेको ओप्याचलाई माइक्रोप्याचको रुपमा प्रयोग गर्नसक्ने कम्पनीले बताएको छ ।

माइक्रोसफ्टमा देखिएका सम्पूर्ण सुरक्षा कमजोरी समाधान नभएसम्म प्रयोगकर्ताका लागि यो सेवा निःशुल्क गरिने ओप्याचले जनाएको छ । यसका लागि प्रयोगकर्ताले ओप्याच डाउनलोड गरी आफ्नो अकाउन्ट दर्ता गर्नुपर्नेछ ।

‘ओप्याच’ तत्काल समस्या समाधानको उपाय भएपनि दीर्घकालीन समाधान भने होइन । माइक्रोसफ्टले चाँडै प्रभावकारी प्याच जारी गर्ने र सबै विण्डाेजका प्रयोगकर्तालाई सुरक्षित गर्न आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३