close

भरपर्दो देखिएन टेस्लाको कार, अन्तिममा पर्‍यो विश्वसनीय ब्राण्डको सूचीमा

टेकपाना टेकपाना

मंसिर ४, २०७८ १६:४२

भरपर्दो देखिएन टेस्लाको कार, अन्तिममा पर्‍यो विश्वसनीय ब्राण्डको सूचीमा

काठमाडौं । अटोमोबाइल बजारमा टेस्ला संसारकै सबैभन्दा मूल्यवान कार निर्माता हाे । तर हालै बाहिरिएकाे एक रिपाेर्टअनुसार एलन मस्ककाे याे कम्पनी उपभाेक्ताकाे नजरमा भने उत्कृष्ट बन्न सकेन ।

कन्जुमर रिपोर्ट‘ ले जारी गरेकाे विश्वसनीय ब्राण्डकाे सूचीमा टेस्ला कम्पनी अन्तिमतिर परेकाे हाे । यसअन्तर्गत २८ वटा गाडी निर्मातामध्ये टेस्ला २७औं नम्बरमा छ ।

रिपोर्टअनुसार टेस्लाको वाई (Y) मोडलको गाडीमा बडी प्यानलको फिटिङ राम्रोसँग नभएको, चुहावट भएको र यसमा मौसम नियन्त्रणको फिचरमा पनि समस्या देखिएको छ ।

अहिलेका प्राय सबै विद्युतीय गाडीहरूमा समस्या देखिएकाे साे रिपाेर्टमा उल्लेख छ । किनभने विद्युतीय गाडीहरू नयाँ प्रविधिमा आधारित भएर बनाइएका छन्, जसले खासै विश्वसनीयता कमाउन सकेका छैनन् ।

प्राय सबै विद्युतीय कारमा विद्युतीय ढोका, विद्युतीय क्लाइमेट कन्ट्रोल भेन्ट्सलगायत अन्य फिचर पनि विद्युतीय नै हुन्छ ।

यसरी सबै फिचर विद्युतीय हुँदा सानो प्राविधिक समस्याले पनि धेरै समस्या निम्त्याउन सक्ने कन्जुमर रिपोर्टका अध्यक्ष जेक फिसरले बताएका छन् ।

कम्पनीहरूले विद्युतीय गाडीमा भेटिएका बगहरू समाधान गर्दै गइरहेको कारणले भने आउने दिनमा इन्धनबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीको विश्वसनीयता बढ्दै जाने अनुमान गरिएको छ ।

कन्जुमर रिपोर्टले २०२१ को ‘अटोमोटिभ रिलायबिलिटी सर्भे’ (गाडीहरूको विश्वसनीयता सर्वेक्षण) मा आठवटा ब्राण्डको ११ वटा विद्युतीय गाडीको सर्वेक्षण गरेको थियो ।

टेस्लाका प्रयोगकर्ताहरू गाडीमा सन्तुष्ट भएपनि समस्या पनि उत्तिकै भएको रिपोर्टको दाबी छ । टेस्लाको मोडेल ‘एक्स’ ले विश्वसनीयताको सर्वेक्षणमा १०० मा पाँच पोइन्ट मात्र पाएको छ ।

यद्यपि मोडेल ‘थ्री’ ले भने औषतमा विश्वसनीय भएको रेटिङ पाएको थियो । त्यस्तै मोडेल ‘वाई’ मा भने सेन्सर, एक्सटेरियर, हिट पम्पस र एअर कन्डिसनिङमा समस्या भएको प्रयोगकर्ताले बताएका छन् ।

गाडीको विश्वसनीयता त्यसको स्पेयर पार्टको आपूर्तीमा पनि निर्भर हुने फिसरले बताएका छन् । कन्जुमर रिपोर्टले टेस्लाको अटोपाइलट र फूल सेल्फ ड्राइभिङ फिचरको आलोचना गरेको छ ।

सन् २०१६ मा फ्लोरिडामा एक व्यक्तिको अटोपाइलट अन गरेको अवस्थामा दुर्घटनामा पनि मृत्यु भएको थियो । सिस्टमले अगाडिबाट आइरहेको ट्रयाक्टरलाई डिटेक्ट गर्न नसक्दा त्यो दुर्घटना भएको थियो ।

यसकारण गाडीलाई पूर्णरुपमा अटो पाइलटभन्दा पनि सेमिपाइलट मोडमा राख्नु ठीक हुने रिपोर्टले सुझाव दिएको छ ।

साथै अटोमेटिक स्टेरिङलाई डिस्कनेक्ट गरेर ड्राइभरले नै स्टेरिङ समातिरहनुपर्ने व्यवस्था गर्नुपर्ने कन्जुमर रिपोर्टको दाबी छ । ड्राइभर धेरै प्रविधिमा आश्रित हुँदा यसले सुरक्षा चुनौती निम्त्याउने रिपोर्टको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३